उदयपुरको कटारी नगरपालिकामा आएको हुरीबतासका कारण दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
सोमबार साँझ आएको हुरीले कटारी–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङको रुखको हाँगाले लागेर ज्यान गएको हो। यस्तै कटारी–५ तीनकुने चोकस्थित राधाकृष्ण मन्दिर नजिक सखुवाको रुख ढल्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
हुरीका कारण कटारी–८ र ५ का विभिन्न स्थानका ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको छ भने अन्य चार जनाको कटारी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।
प्रहरीका अनुसार शव परीक्षणको तयारी भइरहेको छ। हुरीबतास र वर्षाका कारण कटारी क्षेत्रका पहाडी भागमा घरका छाना उड्नुका साथै केही स्थानमा सामान्य क्षति भएको विवरण प्राप्त भएको छ।









