दमक | ७ चैत | झापाको गौरादह नगरपालिका–६ धोपा टोलमा चट्याङ् लागेर आगलागी हुँदा करिब दुई लाख पचास हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
गएराति करिब ११ बजेर ३० मिनेट जाँदा अविरल वर्षासहितको हावाहुरीका क्रममा परेको चट्याङ् अजय कुमार झाको घरमा पर्दा आगलागी भएको हो।
आगलागीका कारण टिनको छानो र बाँसले बनेको एकतले भान्साघर तथा त्यससँगै जोडिएको ग्वाली पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट भान्साघरभित्र रहेका ग्यास सिलिण्डर, करिब ८० किलो चामल, साइकल, विद्युत् मिटर, वाइफाइ राउटर, भाँडावर्तन, अन्नपात तथा फर्निचर जलेर नष्ट भएका छन्।

त्यस्तै, ग्वालीमा रहेका ६ वटा बाख्रा—दुई माउ र चार पाठा समेत जलेर नष्ट भएका छन्।
यद्यपि, घटनामा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ।
स्थानीय बासिन्दा, प्रहरी तथा गौरादह नगरपालिकाको दमकलको संयुक्त प्रयासमा आगो आज बिहान करिब १ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।









