दमक| ९ चैत | खुल्ला सिमाना, सिमानाकामा कडाइका प्रयास, तर लागुऔषध कारोबार भने झन् संगठित बन्दै ।
प्रहरीको नियमित निगरानीका बाबजुद पनि मुख्य कारोबारीसम्म पुग्न नसक्दा समस्या ज्यूँका त्यूँ रहेको भन्दै प्रश्न उठ्न थालेका छन्।
यही सन्दर्भमा जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, आइतबार साझ मेचीनगर नगरपालिका–६, पुरानो मेची पुल क्षेत्रमा लागुऔषधसहित एक जना व्यक्ति नियन्त्रणमा लिइएका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटंकीबाट सिटि सफारी चढेर नेपालतर्फ आइरहेका सर्लाही ईश्वरपुर नगरपालिका–४ का ३१ वर्षीय सनम बुर्जा मगरलाई शंकास्पद अवस्थामा रोकी जाँच गरेको थियो।
शरीर तलासीका क्रममा उनीसँगबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। डिजिटल तराजुमा नाप्दा प्लास्टिकसहित ८७ ग्राम ५४० मिलिग्राम र प्लास्टिक बाहेक ७३ ग्राम ७७० मिलिग्राम लागुऔषध बरामद भएको छ। उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ।
तर, यस्ता घटनाले एउटा गम्भीर प्रश्न फेरि उठाएको छ,
के प्रहरीले साना कारोबारी मात्र समातिरहेको छ?
किनकि खुल्ला सिमानाको फाइदा उठाउँदै भारत–नेपाल नाका हुँदै लागुऔषधको ओसारपसार सहज बनेको छ।
सिमानामा कडाइ गरिएको दाबी गरिए पनि कारोबारीहरूको सञ्जाल भने अझै सक्रिय देखिन्छ।
स्थानीय र सरोकारवाला निकायहरू भन्छन् औपचारिकताका लागि साना कारोबारी पक्राउ गर्नु मात्रै समाधान होइन। मुख्य योजनाकार, लगानीकर्ता र नेटवर्क सञ्चालन गर्ने ठूला कारोबारीसम्म प्रहरी पुग्न नसक्दा यो समस्या झन् गहिरिँदै गएको छ।
यसैले निगरानी मात्र होइन, खुफिया सूचना प्रणाली बलियो बनाउँदै जरा समातेर सञ्जाल नै ध्वस्त पार्ने रणनीति आवश्यक रहेको सरोकारवालाको सुझाब छ ।
अन्यथा, पक्राउका खबरहरू त आइरहनेछन् तर लागुऔषधको व्यापार रोकिने संकेत भने देखिने छैन ।
तस्बिर : ए आई









