काठमाडौँ,९चैत। काठमाडौँ उपत्यका विकास प्राधिकरणले टोखा नगरपालिकामा लामो समयदेखि अतिक्रमणमा परेको सार्वजनिक जग्गा खाली गराएको छ। टोखा नगरपालिका–७ को दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा सरकारी तथा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचनामाथि आइतबार बिहानदेखि डोजर चलाइएको हो।
प्राधिकरणका अनुसार करिब १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरी टहराहरू निर्माण गरिएको पाइएको थियो। पटक–पटक सूचना जारी गर्दा पनि अटेर भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा सुरक्षाकर्मीको उपस्थितिमा संरचना हटाइएको हो।
प्राधिकरणले यसअघि २०८२ असार १५ गते सात दिने सार्वजनिक सूचना जारी गर्दै जग्गा खाली गर्न आग्रह गरेको थियो। तर सम्बन्धित पक्षले बेवास्ता गरेपछि बाध्य भएर बल प्रयोग गरिएको बताइएको छ। उक्त जग्गामा घर टहरा बनाएर भाडामा लगाई अवैध रूपमा आम्दानी गरिँदै आएको उजुरी समेत परेको थियो। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाएको जनाइएको छ।
स्थानीय तह र केही जनप्रतिनिधिको संलग्नता रहेको चर्चा पनि बाहिर आएको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि अभियान अझ कडाइका साथ अघि बढाइने बताएको छ।









