इलाम,९ चैत । इलामको सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ हुँदै, विश्वभरका पर्यटक भित्र्याउने लक्ष्य
पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर गाउँपालिका मा तेस्रो ‘रेडपाण्डा महोत्सव’ आयोजना हुने भएको छ। चैत २० देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवले दुर्लभ वन्यजन्तु रेड पाण्डा को संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महोत्सव आयोजक समितिका संयोजक सनम राईले महोत्सवको मुख्य उद्देश्य रेड पाण्डा लगायत लोपोन्मुख वन्यजन्तु संरक्षणबारे जनचेतना अभिवृद्धि गर्नु र क्षेत्रीय पर्यटन प्रवद्र्धन गर्नु रहेको जानकारी दिनुभयो ।
महोत्सव विशेषगरी ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनमा केन्द्रित हुनेछ। करिब ४० किलोमिटर लामो यो पदमार्गले माईपोखरी देखि जौबारीसम्मका विभिन्न पर्यटकीय स्थललाई जोड्छ। यस मार्गमा रेड पाण्डासहित विभिन्न वन्यजन्तु, चराचुरुङ्गी तथा समृद्ध जैविक विविधताको अध्ययन–अवलोकन गर्न सकिन्छ।
महोत्सव अवधिमा पर्यटकहरूले सन्दकपुर डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य अवलोकन, हिमश्रृंखलाको मनोरम दृष्य, जंगल सफारी, स्थानीय संस्कृति तथा परिकारको अनुभव लिन पाउनेछन्। साथै, रामसार सूचीमा सूचीकृत माईपोखरी क्षेत्रको भ्रमण, चराचुरुङ्गी तथा वनस्पति अध्ययनजस्ता गतिविधि पनि समेटिनेछन्।
सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बुले महोत्सव सफल बनाउन विभिन्न निकायसँग सहकार्य गरिने बताउनु भयो। उहाँले रेड पाण्डा अवलोकनसँगै पालिकाभित्रका प्रमुख गन्तव्यहरूको प्रवद्र्धनमा महोत्सवले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले भारतीय पर्यटकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
महोत्सव समितिका सदस्य केशव धौराली र सुजन तिम्सिनाले सन्दकपुर क्षेत्रका विविध पर्यटकीय सम्भावना तथा रेड पाण्डाको अन्तर्राष्ट्रिय महत्वबारे प्रकाश पारे। यसअघि आयोजना गरिएका संस्करणहरूले स्थानीय पर्यटन व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा वातावरण संरक्षणमा सकारात्मक प्रभाव पारेको आयोजकको दाबी छ।
यस वर्ष महोत्सव कालपोखरी क्षेत्रमा आयोजना हुनेछ। सन्दकपुर गाउँपालिका मुख्य आयोजक रहेको महोत्सवको उद्देश्य रेड पाण्डा संरक्षणसँगै पदमार्ग पर्यटनको प्रवद्र्धन गर्नु हो।
करिब ११ करोड रुपैयाँ लागतमा पाँच वर्ष लगाएर निर्माण गरिएको पदमार्ग क्षेत्रमा रेड पाण्डासहित विभिन्न वन्यजन्तु र सयौँ प्रजातिका चराहरू पाइन्छन्। १५ भन्दा बढी पर्यटकीय गन्तव्य समेटिएको यस पदमार्गले प्रकृति, जैविक विविधता र सांस्कृतिक सम्पदालाई एकसाथ अनुभव गर्ने अवसर प्रदान गर्दछ।
चार दिनसम्म चल्ने महोत्सवमा सहभागी पर्यटकहरूले आदिवासी जनजातिको संस्कृति, सिमसार क्षेत्र, पोखरीहरू, प्राकृतिक सौन्दर्य, तथा सगरमाथा सहित ६० भन्दा बढी हिमश्रृंखलाको दृश्यावलोकन गर्न सक्नेछन्।
प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण सन्दकपुर क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो।









