काठमाडौं,१० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्बन्धी मुद्दा आज पनि सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’ अवस्थामा राखिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ जारी रहे पनि नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। उक्त रिटमाथि अब आगामी बिहीबार पुनः सुनुवाइ हुने भएको छ।
यसअघि हिजो पनि सोही इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी दाबी हटाउने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्।
उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।









