बागलङ,११ चैत। बागलुङमा समयमा क्षयरोगको उपचार नगरेका कारण चालु आर्थिक वर्षको नौ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार संक्रमित व्यक्तिले समयमा उपचार नगर्दा समुदायमा संक्रमण फैलिँदै जाँदा मृत्युदर पनि बढेको हो।
गत वर्ष २६४ जना संक्रमित हुँदा १९ जनाको मृत्यु भएको थियो। जनस्वास्थ्य कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेका अनुसार यस वर्ष हालसम्म १४४ जना संक्रमित फेला पर्दा १८ जनाले ज्यान गुमाइसकेका छन्।
घिमिरेका अनुसार मृत्यु हुनेमध्ये सबैभन्दा धेरै गलकोट नगरपालिकाका रहेका छन्, जहाँ आठ जनाको मृत्यु भएको छ। यस्तै बडिगाड गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा दुई तथा निसीखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा एक–एक जनाको मृत्यु भएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयले परीक्षणको दायरा विस्तार गर्दै जाँदा संक्रमित पहिचान बढ्दै गएको घिमिरेले बताउनु भयो। विकट बस्तीहरूमा क्षयरोगसम्बन्धी जनचेतना पर्याप्त नपुग्दा संक्रमण न्यूनीकरण गर्न चुनौती रहेको उहाँको भनाइ छ।









