सर्लाही, १३ चैत । महोत्तरीमा सडक विस्तारको क्रममा ढलेको रुखले पत्रकार प्रेमनाथ पौडेल र उहाँका दाजु घाइते हुनु भएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाले यस घटनालाई सडक विभागको लापरवाहीका कारण भएको ठहर गर्दै घाइते पत्रकार दाजुभाइको उपचारको पूर्ण व्यवस्था गर्न जोडदार माग गरेको छ ।
महासंघले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा घाइते पौडेल दाजुभाइको सम्पूर्ण उपचार र उचित क्षतिपूर्ति सुनिश्चित गर्न प्रशासनसँग आग्रह गरिएको छ ।
हरिवन नगरपालिका–४ निवासी पौडेल दाजुभाइ बुधबार सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गर्दा महोत्तरीको लक्ष्मीनियाँ चोक नजिक पूर्व–पश्चिम लोकमार्गमा दुर्घटनामा पर्नु भएको हो। सडक विभागले काट्दै गरेको रुख अचानक ढलेर उनीहरूको सवार प्रदेश २–०३–०१८ प ५४२९ नम्बरको मोटरसाइकलमाथि खस्दा दुवै जना सख्त घाइते हुनुभएको छ ।
तत्काल सडक विभागका कामदारहरूले उद्धार गरी बर्दिवासस्थित जनसेवा अस्पताल पु¥याएका थिए। प्रेस विज्ञप्तिअनुसार, पौडेलको दाहिने कुहिनामा गहिरो चोट लागेको र कम्मरमुनी दाहिने खुट्टाको हड्डी भाँचिएको छ । प्रारम्भिक उपचारपछि उहाँहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
महासंघले घटनामा सडक विभागको पूर्ण जिम्मेवारी रहेको भन्दै दोषी कर्मचारी र कामदारमाथि छानबिन गरी कारबाही गर्न प्रशासनसँग माग गरेको छ । साथै, घाइते पत्रकार दाजुभाइको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको छ ।









