शुक्रबार साँझ परेको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बीपी राजमार्ग आज बिहान ६ बजेदेखि पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि मौसम प्रतिकूल हुन सक्ने भएकाले सतर्क भएर यात्रा गर्न अनुरोध गरिएको छ।
शुक्रबारदेखि परेको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको थियो। खोलामा पानीको सतह घटेपछि डाइभर्सनमार्फत अस्थायी रूपमा सडक सञ्चालनमा ल्याइएको हो। यसअघि राजमार्ग पूर्ण रूपमा नखुलेसम्म सवारी आवागमनमा रोक लगाइएको थियो।
बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर क्षेत्रमा डाइभर्सन बगाएको थियो। आज बिहानैदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको हो।
बाढीपहिरोका कारण बिरुवाडाँडा, कालढुंगा, चौकीडाँडा र मंगलटार क्षेत्रमा सडकमा क्षति पुगेको थियो। राजमार्ग अवरुद्ध भएपछि काभ्रेभञ्ज्याङ, भकुण्डे, नेपालथोक र मंगलटारबाट राजधानी प्रवेश गर्ने सवारीसाधन प्रभावित भएका थिए।









