सुरुङ्गा,१६ चैत। पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज बिहान पुनः पहिरो खसेसँगै अबरुद्ध भएको जनाइएको छ। यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उहाँका अनुसार अबरुद्ध सडक खुलाउन प्रयास जारी रहेको जनाइएको छ।
यसअघि साँझ सुक्खा पहिरोका कारण अबरुद्ध भएको राजमार्ग राति १०ः५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो। तर, आज बिहान फेरि पहिरो झरेपछि अवस्था जटिल बनेको जनाइएको छ।
इलामको रोङ गाउँपालिका–४ बागखोरस्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको हो। सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ।









