काठमाडौं,१७ चैत । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका लागि आवश्यक पोसाक स्वदेशमै उत्पादन गर्ने योजना अघि सारिएको बताउनु भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले प्रहरीको पोसाक उत्पादन गर्न आफ्नै फ्याक्ट्री स्थापना गरिनेछ, जुन सहरभन्दा बाहिर गाउँ क्षेत्रमा राखिने बताउनु भएको हो । उहाँले यसबाट गाउँका स्थानीय बासिन्दाले रोजगारी पाउने, स्वदेशमै उत्पादन बढ्ने बताउनु भयो ।
मन्त्री गुरुङले भन्नु भयो,‘प्रहरीको पोसाक आफैं उत्पादन गर्ने हो भने देशमै उद्योग विकास हुन्छ, रोजगारी सिर्जना हुन्छ र आवश्यक सामग्री समयमै उपलब्ध हुन्छ ।’
त्यस्तै, उहाँले प्रहरीको न्युट्रिसनु (पोषण) र कार्य अवस्थाबारे पनि कुरा उठाएको बताउनु भयो । उहाँले प्रहरी कर्मचारीहरू दिनरात खट्नुपर्ने भएकाले उनीहरूको पोषण तथा सुविधामा सुधार आवश्यक रहेको बताउनु भयो ।
उहाँले यस विषयमा आफूले पहिलेदेखि नै आवाज उठाउँदै आएको उल्लेख गर्दै सम्बन्धित फाइल मन्त्रालयबाट अघि बढिसकेको र अब कार्यान्वयन चरणमा लैजान तयार रहेको जानकारी दिनु भयो ।









