काठमाडौं,१९ चैत । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गर्नु भएको छ । विहीबार बिहान उहाँले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गर्नु भएको हो । दर्शनसँगै उहाँले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गर्नु भएको छ।
गृहमन्त्री नियुक्त भएपछि उहाँ पहिलो पटक पशुपतिनाथ दर्शनका लागि पुग्नु भएको हो । आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर उहाँ मन्दिर पुगेको बताइएको छ । यसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष दिनका रूपमा हेरिने गरिन्छ ।
हनुमान जयन्ती हिन्दु धर्मावलम्बीका लागि अत्यन्त महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । यस दिन भगवान् हनुमानको जन्म भएको विश्वास गरिन्छ । विशेषगरी शक्ति, भक्ति, साहस र निष्ठाको प्रतिकका रूपमा हनुमानलाई पुज्ने गरिन्छ । देशभरका मन्दिरहरूमा पूजा–अर्चना, भजन–कीर्तन तथा धार्मिक कार्यक्रमहरू आयोजना हुने गर्छन् भने भक्तजनहरू बिहानैदेखि उपवास बस्दै मन्दिरमा दर्शनका लागि पुग्ने परम्परा रहेको छ ।
आजको दिन पशुपतिनाथ क्षेत्रमा पनि बिहानैदेखि भक्तजनको ठुलो भीड लागेको थियो । सुरक्षाको विशेष व्यवस्था मिलाइएको थियो भने मन्दिर परिसर व्यवस्थित र अनुशासित देखिएको थियो । गृहमन्त्री गुरुङको उपस्थितिले सुरक्षा निकायहरू थप सक्रिय देखिएका थिए ।
दर्शनपश्चात् गृहमन्त्री गुरुङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गर्नुभएको बताइएको छ । साथै उहाँले मन्दिर क्षेत्रको सरसफाइ, व्यवस्थापन तथा तीर्थयात्रीहरूको सुविधाका विषयमा सम्बन्धित निकायसँग जानकारी लिँदै आवश्यक सुधारका लागि निर्देशनसमेत दिनु भएको छ् ।
यस क्रममा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले मन्दिर क्षेत्रको वर्तमान अवस्था, व्यवस्थापनका चुनौतीहरू तथा भइरहेका विकास निर्माणका कामबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए । गुरुङले धार्मिक स्थलहरूको संरक्षण र प्रवद्र्धनमार्फत पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।
गृहमन्त्री गुरुङको आजको पशुपतिनाथ दर्शनलाई धार्मिक आस्था र सांस्कृतिक सम्मानसँगै आफ्नो कार्यकालको सुरुवातमा सकारात्मक सन्देश दिने कदमका रूपमा पनि लिइएको छ । साथै, हनुमान जयन्तीजस्तो पवित्र दिनमा गरिएको दर्शनलाई अझ विशेष र अर्थपूर्ण रूपमा हेरिएको छ ।









