सिराहा,२३ चैत । सिराहा नगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट भएको गम्भीर आरोप सार्वजनिक भएपछि स्थानीय तहमा हलचल मच्चिएको छ । नगरपालिकाका कार्यालय सहयोगी (का.सा.) रामशरण यादवले मेयर डा.नवीन यादवले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै सञ्चारमाध्यममार्फत घटना सार्वजनिक गर्नु भएको छ।
पीडित रामशरण यादवका अनुसार, उहाँ नियमित रूपमा बिहान करिब ९ बजे कार्यालयमा हाजिर लगाउन पुग्नु भएको थियो। सोही क्रममा मेयर डा. नवीन यादवले उहाँलाई ‘तिमी दरबन्दीमा हौ, कि काजमा ?’ भनेर सोधेका थिए। त्यसको जवाफमा उहाँले आफू काजमै रहेको बताउनु भएको थियो ।
राम शरणका अनुसार, त्यसपछि मेयरले हाजिर लगाउन पर्दैन भन्नु भएको थियो । तर, उहाँ आफ्नो कर्तव्यअनुसार हाजिर लगाउन जाँदा मेयर अचानक आक्रोशित भई आफूमाथि कुटपिट गरेको आरोप लगाउनु भएको छ । घटनापछि उहाँले न्यायको माग गर्दै सञ्चारमाध्यममा जानकारी गराउनु भएको छ। यस घटनाले कर्मचारी सुरक्षा र कार्यस्थलको वातावरणबारे गम्भीर प्रश्न उठाएको छ ।
हालसम्म मेयर यादवको तर्फबाट यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन । घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । यस घटनाले सिराहा नगरपालिकाभित्रको आन्तरिक व्यवस्थापन र कर्मचारी–प्रशासन सम्बन्धमा समेत बहस सुरु गराएको छ ।









