राज्यको बेवास्ता

१५ वर्षदेखि खोरमा बाँधिएका बिशाल

रौतहट,२५ चैत । एउटा १८ वर्षको लक्का जवान छोरा, जसको काँधमा परिवारको सहारा बन्ने सपना हुनुपर्ने थियो । तर, रौतहटको चन्द्रपुर नगरपालिका–३, गैडाटारका बिशाल तितुङका लागि भने संसार बाख्राको एउटा सानो खोर र खुट्टामा बेरिएको फलामको साङ्लोमा सीमित छ । बितेका १५ वर्षदेखि उनी त्यही अँध्यारो खोरमा पशुवत जीवन बिताउन बाध्य छन् ।

 

२०६६ सालमा सामान्य अवस्थामा जन्मिएका बिशालको हाँसो २०६८ सालपछि ओइलायो । अचानक बिरामी परेका उनलाई परिवारले काठमाडौँका ठूला अस्पताल पु¥याए । तर, चिकित्सकको एउटै जवाफले बाबु बाबुलाल र आमा अस्मिताको खुट्टा मुनिको जमिन भासियो—‘छोराको मस्तिष्कको एक भागले काम गर्दैन, यो निको हुन्न ।’

 

त्यसपछि सुरु भयो बिशालको कहालीलाग्दो यात्रा । बोल्न नसक्ने र जे भेट्यो त्यही च्यात्ने, फाल्ने वा खाने समस्याका कारण उनलाई नियन्त्रणमा राख्न परिवारले कठोर निर्णय लियो—खुट्टामा साङ्लो बाँधेर बाख्राको खोरमा राख्ने । ‘मुटुमा ढुङ्गा राखेर छोरालाई जनावर झैँ बाँधेका छौँ,‘बुवा बाबुलाल गला अवरुद्ध पार्दै भन्नु हुन्छ्, ‘नबाँधे कता पुग्छ थाहा हुन्न, फर्केर आउँदैन । भेटेका सामान नष्ट गर्छ । हामी गरिबका लागि यो साङ्लो सुरक्षा पनि हो र बाध्यता पनि ।’

 

बिशालको खानपान र दिसा–पिसाब सबै त्यही खोरभित्रै हुन्छ । उनको नाममा आउने मासिक दुई हजार रुपैयाँ अपाङ्ग भत्ताले न पेट भरिन्छ, न उनको अवस्था फेरिन्छ । छोरालाई कुनै पुनस्र्थापना केन्द्रमा पठाएर मानवीय जीवन दिलाउने बाबुलालको धोकोमा सरकारी नीति नै बाधक बनेको छ । वडा कार्यालयले बुवा–आमा जीवित रहेसम्म सिफारिस दिन मिल्दैन भन्दै पन्छाइदिएको उहाँको गुनासो छ । छोराको जीवन खोरमै सकिने डरले आमाबाबु दिनरात पिरोलिएका छन् ।

 

गैडाटारको यो एउटा खोरले हाम्रो समाज र राज्यको वास्तविक तस्विर छर्लङ्ग पारेको छ । के एउटा अपाङ्गता भएको नागरिकले अभिभावक जीवित भएकै कारण पशुवत जीवन बिताउनुपर्ने हो ? के ‘ख’ वर्गको परिचयपत्र र थोरै भत्ताले राज्यको दायित्व पुरा हुन्छ ? बिशालको खुट्टाको साङ्लो फुकाल्न अब कुनै सरकारी कानुनी दाउपेच होइन, एउटा मानवीय मन र राज्यको अभिभावकीय भूमिकाको खाँचो छ । १५ वर्ष खोरमा बिते, के बाँकी जीवन पनि त्यसरी नै सकिने हो ? यो प्रश्नले आज गैडाटार मात्र होइन, सिङ्गो मानवतालाई गिज्याइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,