काठमाडौं,२९ चैत । वन तथा कृषि तथा पशुपंछी विकास मन्त्री गीता चौधरीले मानव गतिविधि,जलवायु परिवर्तन र असन्तुलित उपयोगका कारण वनस्पति स्रोतहरु संकटमा परेको बताँउनु भएको छ। वनस्पति विभागको ६६औं वार्षिकोत्सव तथा २७ औं वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले हामीले लिने अक्सिजनदेखि औषधि, खाद्य रोजगारी र आर्थिक विकास जस्ता सबै क्षेत्रमा वनस्पतिको प्रत्यक्ष योगदान भएतापनि अहिले यस क्षेत्र संकटमा रहेको चिन्ता व्यक्त गर्नु भयो ।
मन्त्री चौधरीले वनस्पति स्रोतलाई समयमा नै संरक्षण र व्यवस्थापन गर्न नसके भविष्य नै संकटमा पर्ने धारणा राख्नु भयो।
उहाँले भन्नु भयो,‘हामीले लिने अक्सिजन देखि औषधि, खाद्य रोजगारी र आर्थिक विकास जस्ता सबै क्षेत्रमा वनस्पतिको प्रत्यक्ष योगदान रहेको छ । तर मानव गतिविधि,जलवायु परिवर्तन र असन्तुलित उपयोगका कारण वनस्पति स्रोतहरु संकटमा परेका छन् । यसलाई समयमा नै संरक्षण र व्यवस्थापन गर्न नसके हामी आफै आफ्नो भविष्य संकटमा पार्न सक्छौं ।’
त्यस्तै उहाँले अझैपनि वनस्पतिको कच्चा पदार्थको निर्यात गर्ने परम्परा तोड्न नसकेको बताउँदै उहाँले अबको बाटो भनेको अनुसन्धान प्रविधिको रहेको धारणा राख्नु भयो। अहिलेको सरकारले नीति र ऐनहरुको विषयमा प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको भन्दै वनस्पति विभाग सम्बन्धी आवश्यक नीति कानुनहरु पनि निर्माण गरिने विश्वास दिलाउनु भयो।









