क्वालालम्पुर, २ बैशाख । मलेसियामा मानव तस्करी तथा नक्कली कागजात बनाउने गिरोह सञ्चालन गरेको आरोपमा एक नेपाली नागरिक पक्राउ परेका छन्।
मलेसियाको अध्यागमन विभागले राजधानी क्वालालम्पुर क्षेत्रमा छापा मार्दै गिरोहको मुख्य योजनाकार भनिएका ४३ वर्षीय महेन्द्र जंग शाहलाई नियन्त्रणमा लिएको जनाएको छ।
अध्यागमन महानिर्देशक दातुक जाकारीया शाबनका अनुसार पक्राउ परेका शाह सन् २०१९ देखि सक्रिय रहेको मानव तस्करी र कागजात किर्ते सञ्जालका प्रमुख सदस्य हुन्।
अनुसन्धानबाट उक्त गिरोहले हालसम्म १० करोड मलेसियन रिङ्गिटभन्दा बढी अवैध आम्दानी गरेको खुलेको छ।
कारबाहीका क्रममा नेपालीसहित भारतीय, बंगलादेशी नागरिक, एक स्थानीय पुरुष र स्थायी बसोबास अनुमति प्राप्त एक भियतनामी महिलासहित ९ जनालाई पक्राउ गरिएको छ। स्थानीय पुरुष र भियतनामी महिला गिरोहसँग सम्बन्धित कम्पनीका सञ्चालक रहेको आशंका गरिएको छ।
प्रहरीले छापामार कारबाहीबाट १११ वटा राहदानी, नक्कली अध्यागमन कागजात, इ–पास, सुरक्षा स्टिकर, १० ल्यापटप, ६ मोबाइल फोन र नगद रकम बरामद गरेको जनाएको छ।
गिरोहले विदेशी कामदारलाई गैरकानुनी रूपमा मलेसिया प्रवेश गराई प्रतिव्यक्ति ५ हजारदेखि ६ हजार रिङ्गिटसम्म असुल्ने गरेको अनुसन्धानमा खुलेको छ।
घटनाबारे अध्यागमन कानुन तथा सम्पत्ति शुद्धीकरण र आतंकवाद वित्तीयकरणसम्बन्धी कानुन अन्तर्गत अनुसन्धान भइरहेको छ। दोषी ठहरिए संलग्न व्यक्तिहरूलाई १० लाख रिङ्गिटसम्म जरिवाना र १५ वर्षसम्म कैद सजाय हुन सक्ने जनाइएको छ।









