बर्लिन,५ वैशाख । इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन (आईटीएफ) को दुई दिने विश्व कार्यसमिति बैठक जर्मनीको बर्लिनमा सम्पन्न भएको छ । विश्वका विभिन्न महादेशमा कार्यालय रहेको यस फेडेरेशनमा करिब ७५० भन्दा बढी यातायात क्षेत्रका मजदुर युनियनहरू आबद्ध छन् भने विश्वभर दुई करोडभन्दा बढी सदस्य रहेका छन् ।
बैठकले विभिन्न समसामयिक मुद्दाहरूमा छलफल गर्दै विश्वभरका यातायात मजदुरहरूको सशक्तीकरणका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ । साथै, अमेरिका–इरान तनावका कारण श्रमिकहरूमा परेको प्रभाव, विशेषगरी जलयानमा कार्यरत श्रमिकहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ ।
बैठकका अवसरमा विश्व कार्यसमिति सदस्य, नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव तथा नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकार अजयकुमार राईले नेपालमा हालै उठेको ट्रेड युनियन खारेजी सम्बन्धी विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले सरकारको प्रस्तावित नीतिमा उल्लेख गरिएको ट्रेड युनियन खारेजी कदम अन्यायपूर्ण भएको बताउनु भएको छ।
राईले २००७, २०४६ तथा २०६२÷०६३ का लोकतान्त्रिक आन्दोलनहरूमा नेपाली श्रमिकहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै त्यसैको परिणामस्वरूप आजको लोकतान्त्रिक व्यवस्था सम्भव भएको बताउनु भएको छ । उहाँले नेपालको संविधान, ट्रेड युनियन ऐन, श्रम ऐन तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अभिसन्धिहरूले युनियन खोल्ने अधिकार सुनिश्चित गरेको अवस्थामा युनियन खारेजीको प्रस्ताव असंगत रहेको धारणा व्यक्त गर्नु भएको छ ।
उहाँले कुनै समस्या भए सामाजिक संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै सुशासन र शून्य भ्रष्टाचारका पक्षमा नेपाल ट्रेड युनियन कांग्रेस सधैं प्रतिबद्ध रहेको र सरकारलाई सहयोग गर्न तयार रहेको पनि बताउनु भएको छ ।
बैठकमा फेडेरेशनका अध्यक्ष पैडी क्रमलिनले नेपाली श्रमिकप्रति ऐक्यबद्धता जनाउन प्रस्ताव राख्दा सहभागिहरूले एकमतले ताली बजाउँदै समर्थन जनाएका थिए ।
त्यस्तै, महासचिव स्टिफन कटनले नेपालमा भइरहेको गतिविधिहरूलाई नजिकबाट अवलोकन गरिरहेको र श्रमिक अधिकारको पक्षमा फेडेरेशन सधैं उभिने बताउनु भयो । आवश्यक परे सरकार र ट्रेड युनियनबीच संवाद हुनुपर्नेमा उहाँले जोड दिनु भएको छ । उक्त फेडेरेशनले रेल, सडक, जलयान, हवाई, बन्दरगाह तथा पर्यटनसहित आठवटा यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूलाई संगठित गर्दै आएको छ । प्रत्येक वर्ष दुई पटक हुने विश्व कार्यसमिति बैठकमा विश्वभरका करिब ८० जना मजदुर नेताहरू सहभागी हुने गर्दछन् ।









