काठमाडौं,९ वैशाख । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन हाल गम्भीर संकटमा रहेको बताउनु भएको छ । नेकपा स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले समग्र राजनीतिक अवस्था अन्योलपूर्ण रहेको उल्लेख गर्नु भएको छ।
उहाँले भन्नु भयो, ‘अहिले सबैतिर एक प्रकारले भन्ने हो भने गहन चिन्तन गर्नुपर्ने अवस्था छ । आज कम्युनिस्ट आन्दोलन जुन संकटमा पुगेको छ, जुन संकटको अवस्थामा उभिएको छ सिंगो देशको राजनीति नै जसरी अन्योलताको मञ्चबाट अगाडि बढीरहेको छ । यो सबै कुराहरुको सन्दर्भमा कम्युनिस्ट पार्टीहरु, आन्दोलन र आफ्नो पार्टीको राम्ररी समिक्षा गर्न आवश्यकता छ । उहाँले कम्युनिस्ट आन्दोलन अपेक्षाविपरीत ओरालो लागिरहेको र हालैको निर्वाचन परिणामले ठूलो धक्का दिएको बताउनु भयो । उहाँले यस परिस्थितिमा पार्टी र आन्दोलन भित्र गहन समीक्षा आवश्यक रहेको धारणा राख्नु भयो ।
उहाँले भन्नु भयो, ‘हुँदाहुँदै जसले देशको राजनीतिलाई अनेकौं मोडहरुमा महत्वपूर्ण भूमिका खेलेका छन् वा हेर्दाहेर्दै कम्युनिस्ट आन्दोलन ओरालो लागेको छ । यस पटकको निर्वाचनमा अप्रत्याशित रुपको परिणामको सामना गर्नु परेको छ, ठूलो धक्का खानु परेको छ । यस्तो धक्काको विश्लेषण गर्ने की नगर्ने, कमजोरीहरुको बारेमा छलफल चलाउने की नचलाउने ? कहाँ रहन गए कमजोरीहरु, कहाँ रहन गए समस्याहरु यसको निम्ती खुलस्त छलफल गर्नुपर्ने आवश्यकता छ ।’
नेपालले पार्टीका कमजोरी र समस्याबारे खुला रूपमा छलफल गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले विगतमा देशको राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको कम्युनिस्ट आन्दोलन अहिले किन कमजोर बन्न पुग्यो भन्ने विषयमा आत्ममूल्यांकन गर्न आवश्यक रहेको बताउनु भयो । यसैगरी उहाँले माक्र्सवाद, कम्युनिस्ट पार्टीको भविष्य छैन भन्ने भाष्य सिर्जना गरेको छ भने त्यो निराशावादी भएको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘माक्र्सवादको भविष्य छैन, कम्युनिस्ट पार्टीको भविष्य छैन भन्ने भाष्य सिर्जना गर्छ भने कसैलाई लागेको छ भने त्यो निराशावादी हो । निराशावादीबाट केही पनि हुनेवाला छैन । त्यसो भएका कारण कम्युनिस्ट पार्टीको भविष्य छ, माक्र्सवादको भविष्य छ, कम्युनिस्ट आन्दोलनको भविष्य छ ।’









