राष्ट्रिय स्वतन्त्र पार्टीका दुई सांसद विवादमाः आचरण र ‘नयाँ राजनीति’ माथि प्रश्न

काठमाडौं,१२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई वैकल्पिक शक्ति, सुशासन र जनउत्तरदायी राजनीति गर्ने दलका रूपमा प्रस्तुत गर्दै आएको छ । तर पछिल्ला घटनाहरूले भने यस दाबीमाथि गम्भीर प्रश्न खडा गरेका छन् ।
रास्वपाका दुई सांसद अलग–अलग घटनामा विवादमा तानिएका छन् । एकातर्फ विद्यालय भ्रमणका क्रममा प्रोटोकलको विषय उठाउँदै प्रधानाध्यापकलाई सार्वजनिक रूपमा झपारिएको आरोप छ भने अर्कोतर्फ न्यायको माग गर्दै धर्नामा रहेका बेला प्रहरी प्रमुखलाई लक्षित गर्दै ‘घिसारेर लैजाने’ जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिइएको भिडियो सार्वजनिक भएपछि जनप्रतिनिधिको मर्यादा र जिम्मेवारी माथि गम्भीर प्रश्न उठेको छ ।
ओखलढुङ्गाबाट निर्वाचित सांसद विश्वराज पोखरेलले विद्यालय भ्रमणका क्रममा प्रधानाध्यापकले गेटसम्म आएर स्वागत नगरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाउनु केवल व्यक्तिगत व्यवहारको विषय मात्र होइन, यो राजनीतिक संस्कारको प्रश्न हो । जनप्रतिनिधि हुनु भनेको सेवा भाव र नम्रता देखाउनु हो, न कि आफ्नो पद र विगतको ओहदाको धाक देखाउँदै शिक्षकजस्ता सम्मानित पेशाप्रति अपमानजनक व्यवहार गर्नु ।

 

२९ वर्षसम्म विशिष्ट श्रेणीमा काम गरेको अनुभव उल्लेख गर्दै ‘प्रोटोकल’को माग गर्नु लोकतान्त्रिक मूल्य र सामान्य नागरिकको मर्यादाविपरीत देखिन्छ । यस्तो व्यवहारले रास्वपाले बोकेको ‘नयाँ राजनीति’ को नारालाई कमजोर बनाएको छ ।
अर्कोतर्फ, सांसद खगेन्द्र सुनारसहितले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना दिनु भएको छ् । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको घटनामा न्याय माग गर्दै बिहीबार साँझदेखि उहाँहरू धर्नामा बस्नु भएको हो । प्रहरी हिरासतभित्र मृत्यु भएको घटनापछि न्यायको माग गर्दै धर्ना दिनु स्वाभाविक र आवश्यक लोकतान्त्रिक अभ्यास हो । पीडितका लागि आवाज उठाउनु जनप्रतिनिधिको कर्तव्य नै हो । तर, यही सन्दर्भमा रास्वपाका सांसद खगेन्द्र सुनारले प्रयोग गरेको अभिव्यक्ति भने गम्भीर विवादको विषय बनेको छ ।

 

जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना बसिरहेका क्रममा उहाँले सार्वजनिक रूपमा प्रहरी प्रमुख (एसपी) लाई लक्षित गर्दै ‘कानुनले काम नगरे यो एसपीलाई घिसारेर काठमाडौ लैजाँनछु’ भन्ने चेतावनीपूर्ण अभिव्यक्ति दिनु भएको छ् । यस्तो अभिव्यक्ति, त्यो पनि एक निर्वाचित सांसदबाट आउनु, कानुनी शासन र संस्थागत मर्यादामाथि प्रश्न उठाउने खालको देखिन्छ ।
न्यायको माग गर्दै आन्दोलन गर्नु र राज्य संयन्त्रलाई जिम्मेवार बनाउनु लोकतन्त्रको मूल आधार हो । तर, त्यस क्रममा धम्कीपूर्ण र उत्तेजक भाषा प्रयोग गर्नुले आन्दोलनको नैतिक बल कमजोर पार्ने मात्र होइन, विधिको शासनमाथि अविश्वास झल्काउने सन्देश पनि दिन्छ । कानुनभन्दा माथि कोही छैन भन्ने सिद्धान्तलाई बलियो बनाउनुपर्ने ठाउँमा ‘घिसारेर लैजाने’ जस्ता शब्द प्रयोग गर्नु, जनप्रतिनिधिको भूमिकासँग मेल खाने व्यवहार होइन ।
उहाँले भन्नु भएको छ, ‘एसपीको जिव्रो कापेको छ, हात कापेको छ । मैंले जिल्ला प्रशासनको गेटमा उभिएर भन्दैछु कानुनले काम गर्छ गरेन भने यो एसपीलाई घिसारेर लग्छु यहाँबाट ।’

रास्वपाले चुनावी अभियानका क्रममा ‘कानुनी शासन’, ‘जवाफदेहिता’ र ‘सभ्य राजनीतिक संस्कार’ को वकालत गरेको थियो । तर, पछिल्ला यस्ता घटनाहरूले ती प्रतिबद्धताहरू व्यवहारमा कत्तिको लागू भएका छन् भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।
एकातर्फ विद्यालयमा सामान्य प्रोटोकलको विषयमा आक्रोश देखाउने, अर्कोतर्फ न्यायको मागकै नाममा धम्कीपूर्ण अभिव्यक्ति दिने यी दुवै घटनाले पार्टीका प्रतिनिधिहरूको आचरणमा असन्तुलन देखाएको छ ।
यदि साँच्चै वैकल्पिक राजनीति स्थापित गर्ने हो भने, शब्द र व्यवहार दुवैमा संयम, जिम्मेवारी र विधिप्रतिको सम्मान अनिवार्य हुन्छ । अन्यथा, पुरानै शैलीको पुनरावृत्ति हुँदै गएको आरोपबाट रास्वपा उम्कन कठिन हुनेछ ।
रास्वपाले यदि साँच्चिकै आफूलाई पुराना दलहरूको विकल्पका रूपमा स्थापित गर्न चाहन्छ भने, उसले आफ्ना नेता तथा सांसदहरूको आचरणमा कडाइका साथ एकरूपता ल्याउन आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा