उदयपुर,२२ वैशाख । सामान्यतया खडेरी हुने समय चैत र वैशाखमा यस वर्ष निरन्तर वर्षा भएपछि उदयपुरका मकै खेती गर्ने किसानहरू उत्साहित भएका छन्। उपयुक्त समयमा पानी परेपछि जिल्लाका तराईदेखि पहाडी क्षेत्रसम्म मकै बाली निकै राम्रोसँग फस्टाएको छ।
मकै छर्ने र गोड्ने समयमा प्रकृतिले साथ दिएपछि यस वर्ष उत्पादन बढ्ने आशामा किसानहरू खुसी छन्। रौतामाई गाउँपालिका–२ भुटारका किसान देवराज दाहालका अनुसार यसपटक मकै छर्ने बेलादेखि नै अनुकूल वर्षा भइरहेको छ। उहाँ भन्नु हुन्छ्, “वर्षाका कारण मकै छर्न र गोड्न निकै सहज भयो। खेती राम्रो देखिएकाले उत्पादन बढ्नेमा हामी ढुक्क छौँ।“
त्यसैगरी, त्रियुगा नगरपालिका–१६ सुकौराका किसान तेजबहादुर बलम्पाकी मगरले पनि डाँडापाखाका सुक्खा बारीमा समेत मकै निकै राम्रो भएको बताउनु भयो। “निरन्तरको वर्षाले सुक्खा जमिनमा लगाइएको मकैलाई ठूलो राहत दिएको छ,“ उहाँले थप्नु भयो। चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका किसान चन्द्रकान्त चौधरी पनि यस वर्षको मौसम मकै खेतीका लागि वरदान सावित भएको बताउँनु हुन्छ्।
जिल्ला कृषि ज्ञान केन्द्र, उदयपुरका प्रमुख योगेन्द्र यादवका अनुसार जिल्लाको पहाडी क्षेत्रका सुक्खा पाखाहरूमा समेत यसपटक वर्षाले गर्दा मकैको बिरुवा राम्रोसँग सप्रिएको छ।
खेती हुने क्षेत्रफलः उदयपुरमा वार्षिक करिब ११ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ।
उत्पादन वृद्धिः यदि मौसम यसरी नै अनुकूल रहेमा यस वर्ष मकै उत्पादनमा २० प्रतिशतसम्म वृद्धि हुने अनुमान कार्यालयले गरेको छ। पहाडी भेगका किसानहरूका लागि मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकै खेती सप्रिएपछि जिल्लाको खाद्य सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने देखिएको छ।









