जनकपुर,२६ वैशाख । स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । शनिबार धनुषाका विभिन्न नीजि तथा सरकारी अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी (हेल्थ ऐसिस्टेन्ट, अनमी, ल्याब ऐसिस्टेन्ट)ले मन्त्री मेहताविरुद्ध प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘स्वास्थ्यमन्त्री मुर्दाबाद’, ‘निशा मेहता राजीनामा दे’, ‘हेपाई होइन अधिकार चाहिन्छ’, ‘बुद्धिहीन स्वास्थ्यमन्त्री निशा मेहता, हाम्रो माग पूरा गर’, ‘स्वास्थ्य क्षेत्रको विभेद बन्द गर’, ‘स्वास्थ्यकर्मीको अपमान बन्द गर’लगायतका नारा लगाउँदै जनकपुरधामको विभिन्न चोकमा विरोध र्याली निकालेका हुन् ।
सरकारले दुई दिन अघि मात्र स्वास्थ्य क्षेत्रमा भारी मात्रामा दरबन्दी आह्वान गरेकोमा हेल्थ ऐसिस्टेन्टलगायत पदमा कुनै दरबन्दी नखुलाएकोमा असन्तुष्टि जनाएका छन् । ३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा खुलाइएको दरबन्दीमा हेल्थ ऐसिस्टेन्ट, ल्याब, रेडियो, सिएमएलगायत पदमा शून्य दरबन्दी आह्वान गर्नु भनेको स्वास्थ्यमन्त्री मेहताले आफूहरुमाथि विभेद गरेको स्वास्थ्यकर्मी नवेश अधिकारीले बताउनु भयो । उहाँले देशमै नर्सिङ र डाक्टरबाहेक अन्य पदमा दरबन्दी नखुलाउनाले देशमा स्वास्थ्यकर्मीहरुको आवश्यकता छ कि छैन भनेर प्रश्न गर्नु भयो ।
स्वास्थ्यकर्मी अधिकारीका अनुसार देशमा प्रत्येक वर्ष ५३०० भन्दा बढी स्वास्थ्यर्कीहरु उत्पादन हुन्छन तर दरबन्दी भने एउटाको पनि हुँदैन । दरबन्दी आह्वान नै नगर्ने हो भने उक्त विषयको पढाई नै बन्द गर्नु बेस हुने स्वास्थ्यकर्मी अधिकारीको भनाइ छ । सरकारले दुई दिन भित्र दरबन्दी आह्वान नसच्च्याए, २८ गत्ते सोमबार काठमान्डौमा विशाल प्रदर्शन गर्ने उहाँले चेतावनी दिनु भयो । स्वास्थ्यमन्त्री मेहताले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने अधिकारीको भनाई छ । मन्त्री मेहताले मेडिकल माफियाहरुको चाकरी गर्ने गरेको अधिकारीको आरोप छ ।









