बाह्रैमास सिँचाइ सुविधाका लागि डुडुवा शाखा नहरको काम द्रुत गतिमा

बाँके,२७ वैशाख । ‘सिक्टा सिँचाइ आयोजना अन्तरगत डुडुवा शाखा नहर निर्माण सम्पन्न भएपछि बाँकेको ठूलो कृषि क्षेत्र बाह्रैमास सिँचाइ सुविधामा जोडिनेछ, जसले किसानको उत्पादन र आम्दानी दुवै बढाउनेछ ।’ यो भनाई हो सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहको । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अन्तर्गत पश्चिमी मूल नहरसँग जोडिएको डुडुवा शाखा नहर निर्माण कार्य अहिले तीव्रगतिमा अघि बढिरहेको उहाँले बताउनु भयो । आयोजना बाँके जिल्लाको कृषि उत्पादन वृद्धि र दीर्घकालीन सिँचाइ व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको आयोजना हो । वर्षौंदेखि आकाशे पानी र मौसमी खेतीमा निर्भर रहेका किसानलाई बाह्रैमास सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस आयोजनाको डुडुवा शाखा नहरलाई अहिले विशेष प्राथमिकताका साथ निर्माण भइरहेको आयोजनाले जनाएको छ ।

सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर साहका अनुसार डुडुवा शाखा नहर २३ दशमलव ४ किलोमिटर लामो हुनेछ । उक्त नहरमार्फत करिब १६ हजार हेक्टर कृषि योग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ । नहरअन्तर्गत खजुरा र मानपुर मुख्य शाखाका रूपमा विकास गरिनेछ भने त्यससँगै विभिन्न उपशाखा नहरहरू निर्माण गरी गाउँगाउँसम्म पानी पु¥याइने योजना रहेको छ ।

उहाँले सिक्टा सिँचाइ आयोजनाको मूल नहरबाट १८ क्युमेक्स पानी डुडुवा शाखा नहरमा खसालिने जानकारी दिँदै यसले बाँकेको नेपालगन्ज, जानकी, खजुरा र डुडुवा गाउँपालिकाका हजारौँ किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउनु भयो । अहिले पनि मूल नहरबाट डुडुवा शाखा नहरको मुहानसम्म नियमित पानी सञ्चालन भइरहेकाले नहर निर्माण पूरा भएसँगै खेती प्रणालीमा ठूलो परिवर्तन आउने उहाँको भनाइ छ । विगतमा ठेक्का विवाद, निर्माण कम्पनीको ढिलासुस्ती र प्रशासनिक प्रक्रियाका कारण डुडुवा शाखा नहर निर्माण लामो समयसम्म प्रभावित बनेको थियो ।

पुरानो ठेक्का रद्द भएपछि नयाँ कम्पनीमार्फत पुनः निर्माण प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ । हाल निर्माण कार्य करिब २५ प्रतिशत सम्पन्न भइसकेको छ भने बाँकी कामलाई तीव्र बनाइएको आयोजना कार्यालयले जनाएको छ । आयोजना पक्षका अनुसार निर्माण सम्पन्न भएपछि बाँके जिल्लामा सिँचाइ पहुँच उल्लेखनीय रूपमा विस्तार हुनेछ भने खेतीयोग्य जमिनको उत्पादकत्वमा वृद्धि आउने अपेक्षा गरिएको छ ।

‘डुडुवा शाखा नहर बनेपछि अहिले सुक्खा र खडेरीको समस्याले प्रभावित किसानलाई ठूलो राहत मिल्नेछ,’ सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता सङ्घका अध्यक्ष शालिकराम डाँगीले भन्नु भयो। उहाँका अनुसार अहिले धेरै किसान वर्षायाममा मात्रै खेती गर्न बाध्य छन् भने हिउँदमा पर्याप्त पानी नहुँदा खेत बाँझै रहने अवस्था छ । डाँगीले नहर निर्माण पूरा भएपछि किसानले वर्षमा एकभन्दा बढी बाली लगाउन सक्ने, तरकारी तथा व्यावसायिक खेती विस्तार हुने र कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो।

उहाँले सिँचाइ सुविधा विस्तारसँगै किसानको आर्थिक अवस्था सुधार हुनुका साथै स्थानीय स्तरमै रोजगारीका अवसर पनि सिर्जना हुने बताउनु भयो । नेपालगन्ज–सुर्खेत सडकखण्ड अन्तर्गत पर्ने पिप्रहवादेखि राँझासम्म करिब पाँच किलोमिटर क्षेत्रमा सुरुङमार्फत नहर निर्माण गरिने योजना रहेको छ । सडक तथा बस्ती क्षेत्रलाई असर नपर्ने गरी आधुनिक प्रविधि प्रयोग गरेर टनेल निर्माण गरिने आयोजनाले जनाएको छ । बाँकी क्षेत्र खुला संरचनामार्फत निर्माण हुनेछ । रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले रु एक अर्ब १२ करोड लागतमा तीन वर्षभित्र उक्त निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएको छ ।

स्थानीय किसानहरू पनि डुडुवा शाखा नहर निर्माणलाई आशाका रूपमा हेरेका छन् । लामो समयदेखि सिँचाइ अभावका कारण उत्पादन घट्दै गएको अवस्थामा अब नियमित पानी उपलब्ध हुने अपेक्षाले किसान उत्साहित बनेका छन् । आयोजना सम्पन्न भएपछि बाँकेको कृषि क्षेत्र थप व्यवस्थित, उत्पादनमुखी र व्यवसायिक बन्ने विश्वास गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा