सर्लाही,७ जेठ । पत्रकारलाई धम्की दिएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–१० स्थित स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झा रहनु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार बख्तियार अलीलाई समाचार लेखेको विषयलाई लिएर पटक पटक धम्की दिएको आरोपमा झालाई पक्राउ गरिएको हो ।
पत्रकार अलीले गत फागुन ५ गते स्तुती सौम्य हेल्थ केयरमा उपचारका क्रममा विष्णु गाउँपालिका–६ निवासी ३ महिनाका अभि बैठाको मृत्यु भएको घटनाबारे समाचार तयार गर्नु भएको थियो । समाचार सार्वजनिक भएपछि डा.झाले समाचार हटाउन दबाब दिने, फोन तथा सामाजिक सञ्जाल मार्फत गालीगलौज र धम्की दिने गरेको आरोप छ । धम्की र दबाब बढेपछि पत्रकार अलीले नेपाल पत्रकार महासंघलाई जानकारी गराउनु भएको थियो । त्यसपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखा र मधेश प्रदेश समितिले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जानकारी दिँदै दोषी उपर कडा कारवाहीको माग गरेका थिए ।
महासंघले कुनै समाचारप्रति असन्तुष्टि भए कानुनी प्रक्रिया अपनाउन सकिने भए पनि पत्रकारलाई धम्क्याउने र दबाब दिने कार्य प्रेस स्वतन्त्रताविरुद्ध भएको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।









