काठमाडौं,९ जेठ । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री विन्दु श्रेष्ठले उद्योग व्यवसाय प्रवद्र्धनका लागि तीन तहको सरकारबीच प्रभावकारी सहकार्य हुन नसक्दा उद्योगी व्यवसायीले दोहोरो–तेहेरो कर तिर्नुपरेको गुनासो बढिरहेको बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको साधारणसभा तथा तेस्रो अधिवेशन बोल्दै उहाँले स्थानीय तह, प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर अगाडि जान नसकेसम्म समस्या रहिरहने बताउनु भएको हो ।
उहाँले भन्नु भयो, ‘उद्योग व्यवसाय प्रमोसनका क्रममा स्थानीय तह, प्रदेश र संघको सहकार्य नभएको कारणले गर्दा धेरै उद्योग व्यवसायीहरुले दोहोरो तेहेरो कार तिर्नुपर्ने कुरा गुनासोका रूपमा आइरहेको छ । बागमती सरकारले पनि यसलाई मनन गरिरहेको अवस्थामा छौँ । जबसम्म तीन तहको सरकारसँग सहकार्य गरेर अगाडि जान सक्दैनै, तबसम्म समस्या ज्यूँकात्यूँ रहनेछ ।’
उहाँले बागमती प्रदेश सरकारले यस समस्यालाई गम्भीर रूपमा मनन गरिरहेको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा बागमती प्रदेश सरकारले करको दर बढाउनेभन्दा पनि करको दायरा बढाएर जानुपर्ने बताउनु भयो ।
एकद्वार प्रणालीबाट सेवा दिनुपर्छ भनेर कुरा उठिरहेको बताउँदै उहाँले बागमती प्रदेश उद्योग मन्त्रालयको १३ वटा जिल्ला कार्यालय अन्तर्गत दुई जिल्ला कार्यालय काभ्रे र चितवनले एकद्धार प्रणली सेवा प्रदान गर्न थालेको बताउनु भयो ।
उहाँका अनुसार काभ्रेर चितवन जिल्ल कार्यालयले २० देखि २५ मिनेट भित्र सेवाग्राहीहरूले सेवा पाउनेगरी नमुना कार्यालय अगाडी बढिसकेको छ ।









