काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाल–रोमानिया व्यापार मञ्च सम्बन्धी उद्घाटन समारोह तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दुई देशबीचको वर्तमान व्यापार परिमाण सानो भएपनि आगामी दिनमा सहकार्यका धेरै क्षेत्र खुला रहेको उल्लेख गर्नु भएको छ । उहाँले नेपालले उच्च गुणस्तरका गार्मेन्ट, हस्तकला, जडीबुटी, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा उपलब्ध गराउन सक्ने बताउनु भयो ।
रोमानियालाई युरोपेली संघको प्रवेशद्वारका रूपमा उल्लेख गर्दै उहाँले बजार पहुँच, प्रविधि हस्तान्तरण तथा औद्योगिक सहकार्यका लागि महत्वपूर्ण अवसर रहेको धारणा राख्नु भयो।
सांसद पराजुलीले नेपालमा पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना प्रविधि र उत्पादन क्षेत्रहरूमा रोमानियाली लगानीको स्वागत हुने बताउनु भयो । साथै संयुक्त लगानीमार्फत दुवै देशमा रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र नवीनतालाई प्रोत्साहन गर्न सकिने उहाँको भनाइ थियो उहाँले भन्नु भयो,‘नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको छ ।नेपालले उच्च गुणस्तरका गार्मेन्ट, हस्तकला, जडीबुटी, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा उपलब्ध गराउन सक्छ । नेपालमा पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना प्रविधि र उत्पादन क्षेत्रहरूमा रोमानियाली लगानीको स्वागत गर्न सकिन्छ ।’
उहाँले नेपाली कामदारहरू मेहनती, इमानदार र अनुकूलन क्षमतायुक्त भएको उल्लेख गर्दै सुरक्षित तथा व्यवस्थित श्रम आप्रवासन विस्तारले दुवै देशलाई फाइदा पुग्ने बताउनु भयो ।
‘रोमानियाको श्रम माग पूरा हुनुका साथै नेपालको रेमिट्यान्स, सीप विकास र आर्थिक सुदृढीकरणमा पनि यसले योगदान पु¥याउँछ,’उहाँले भन्नु भयो।
पराजुलीले श्रम आप्रवासनसँगै सीप आदानप्रदानमा पनि जोड दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा उहाँले नेपाल र रोमानियाबीच पर्यटन तथा सांस्कृतिक आदानप्रदानले पनि दुई देशका नागरिकबीच सम्बन्ध थप मजबुत बनाउन सक्ने धारणा राख्नु भयो। हिमालय र समृद्ध सांस्कृतिक सम्पदाको देश नेपालले रोमानियाली पर्यटकलाई स्वागत गर्छ, त्यसैगरी नेपालीहरूले पनि रोमानियाको इतिहास र युरोपेली सांस्कृतिक विविधताबाट लाभ लिन सक्छन्,’ उहाँले भन्नु भयो। उहाँले नेपाल–रोमानिया व्यापार मञ्चले संवादलाई व्यवहारिक साझेदारीमा रूपान्तरण गर्ने विश्वास व्यक्त गर्दै निरन्तर सहकार्यले दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने बताउनु भयो ।









