काठमाडौं,१७ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताउनु भएको छ । बजेटसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्रोत व्यवस्थापन र बजेटको आकारबारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा २५ खर्बसम्मको बजेट आउने अनुमान भएपनि अन्ततः करिब २१ खर्ब हाराहारीमा बजेट प्रस्तुत गरिएको जानकारी दिनु भएको छ ।
‘यो पद र गहन जिम्मेवारी बोकेपछि राजकाजका सीमाबारे भित्रबाट बुझिन्छ नै,’ मन्त्री वाग्लेले भन्नु भयो, ‘सुरुमा २५ खर्बको बजेट आउँछ भन्ने हल्ला थियो, तर अन्तिममा २१ खर्ब हाराहारीमा सीमित गरिएको हो ।’
उहाँका अनुसार बजेट प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा २८.५ प्रतिशत मात्र रहेको छ । उहाँले प्रक्षेपित जिडिपी करिब ७४५८ रहेको उल्लेख गर्दै त्यो तथ्यांक परिस्थितिअनुसार तलमाथि हुन सक्ने बताउनु भएको छ ।
मन्त्री वाग्लेले पछिल्ला वर्षहरूमा ३० प्रतिशतभन्दा माथिको बजेट आकारको प्रवृत्ति तोड्दै राज्यको क्षमता अनुसारको बजेट ल्याइएको दाबी गर्नु भएको छ । ऋणसम्बन्धी टिप्पणीप्रति प्रतिक्रिया दिँदै उहाँले सार्वजनिक ऋण बढेको तथ्य स्वीकार गर्नु भएको छ। उहाँका अनुसार भूकम्पअघि ऋण–जिडिपी अनुपात करिब २५–२६ प्रतिशत रहेकोमा पुनर्निर्माण र कोभिड–१९ महामारीको अवधिमा वृद्धि भई झण्डै ४२–४३ प्रतिशतसम्म पुगेको छ ।
उहाँले भन्नु भयो, ‘आजका मितिमा ३० प्रतिशत भन्दा माथिको ट्रेण्डलाई हामीले भत्काएर राज्यको क्षमता अनुकुल हुने गरी बजेट ल्याएका हौं । बजेट ठूलो होइन, जिडिपीको सापेक्षतामै सानो बजेट आएको छ । बजारमा ऋणको विषयमा पनि ठूलो चर्चा भएको छ । भूकम्प भन्दा अगाडि हामी २५,२६ प्रतिशतमा थियौं । पुनःनिर्माणको क्रम र कोरोनाका कारण ऋणबेस्सरी बढेकै हो । झण्डै ४२ वा ४३ प्रतिशत पुगेकै हो । त्यो भनेको धेरै वृद्धि हो ।’
यसैगरी उहाँले ४१० अर्ब आन्तरिक ऋण २४७ अर्ब बाह्य ऋण लिएको बताउनु भयो।
उहाँले भन्नु भयो, ‘भूकम्प र कोरोना महामारीको समयमा हाम्रो ऋण बेस्सरी बढेकै हो । त्यसबेला भन्दा अहिले कममै छौँ । यसपालि हामीले ४१० अर्ब आन्तरिक ऋण २४७ अर्ब बाह्य ऋण लिएका छौँ । यो लिएको ऋण पहिले थोपरिएको ऋणमै जाने रहेछ ।’
अर्को वर्षदेखि ऋण नेटमा हिसाब गर्नेबारे गभर्नरसँग पनि छलफल गरिरहेको उनले जानकारी दिनु भयो । अर्को वर्ष तयारीका साथ नयाँ विधि अपनाइने उहाँले बताउनु भयो । अर्थमन्त्रीका अनुसार यो साल वैदेशिक ऋण ७२ अर्ब तिरिने भएको छ । ऋण ६५७ अर्ब लिएको र तिरेको रकम ३१८ अर्ब रहेको छ । त्यस्तै, उनले तलब वृद्धि २१ प्रतिशत नै भएको उहाँले दाबी गर्नु भएको छ । अर्थमन्त्रीले भन्नु भयो, ‘तलब वृद्धि २१ प्रतिशत नै हो है, डाउट नहोस् । झुक्क्यायो, ढाँट्यो भन्ने कुराहरू आइरहेको छ । त्यस्तो होइन, १० प्रतिशत बेसमै भएको हो । बढेको बेसमा अर्को १० प्रतिशत भएको हो ।’









