विराटनगर,२२ जेठ । विश्व वातावरण दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण कोशी प्रदेशमा देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको छ्। शुक्रबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेश जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गर्नु भएको छ्। उहाँले हिउँ पग्लने दर बढ्दै जानु, हिमताल विस्फोटको जोखिम बढ्नु, पानीका स्रोत सुक्दै जानु तथा चुरे क्षेत्रको दोहनले पर्यावरणीय सन्तुलन खलबलिएको बताउनु भएको छ।
‘जलवायु परिवर्तनका चुनौतीहरू दिनप्रतिदिन गम्भीर बन्दै गइरहेका बेला वातावरण संरक्षणका लागि सबैको साझा प्रयास अपरिहार्य छ,’ मुख्यमन्त्री कार्कीले सन्देशमा उल्लेख गर्नु भएको छ। उहाँले तीव्र विकास र मानवीय गतिविधिका कारण प्राकृतिक स्रोत तथा सम्पदा माथि बढ्दो दबाब परेको भन्दै वन, नदी, खोलानाला तथा जैविक विविधताको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ्। मुख्यमन्त्री कार्कीले वृक्षारोपण, प्रदूषण नियन्त्रण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा वातावरणमैत्री जीवनशैलीलाई व्यवहारमा उतार्न सके भावी पुस्ताका लागि सुरक्षित भविष्य सुनिश्चित गर्न सकिने उल्लेख गर्नु भएको छ्। साथै उहाँले वातावरणीय सन्तुलन कायम राख्न सरकार, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ।
विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ मा वातावरण संरक्षण र जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइँदै आएको छ।









