दमकका यी महिलाले ४ दिनको प्रशिक्षणबाटै सिके वाककला : डर हराएको प्रतिक्रिया

दमक,२३ जेठ।“नेपाली समाजमा एउटा स्थापित उखान छ— बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन। हो, ज्ञान र कला जतिसुकै भए पनि यदि त्यसलाई निर्धक्कसँग व्यक्त गर्ने आँट भएन भने मानिस अवसरको दौडमा पछि पर्छ। आजको आधुनिक युगमा मिठो र प्रभावकारी बोल्ने कला नै मानिसको सबैभन्दा ठूलो पहिचान र शक्ति बनेको छ। यही सत्यलाई आत्मसात गर्दै, दमक नगरपालिका वडा नं. ६ कार्यालयले वडाका महिलाहरूलाई नेतृत्वदायी भूमिकामा अगाडि बढाउने उद्देश्यका साथ एक उदाहरणीय कार्य गरेको छ।“

 

“औद्योगिक, पर्यटकीय र हरित नगरः स्वच्छ, सुरक्षित र समृद्ध दमक“ भन्ने मूल संकल्पका साथ गत बुधबारदेखि सुरु भएको ४ दिने ’उद्घोषण तथा क्षमता विकास तालिम’ शनिबार एक विशेष र भावुक समारोहका बीच समापन भएको छ। वडा कार्यालयको यो प्रयास केवल एउटा औपचारिक तालिम मात्र रहेन, बरु महिलाहरूको आत्मविश्वास ब्युँझाउने एउटा बलियो माध्यम बन्यो।

चार दिनअघि जब तालिम सुरु भएको थियो, सहभागी महिलाहरूको आँखामा “के म पनि सक्छु होला र?“ भन्ने संकोच र डर प्रष्ट देखिन्थ्यो। माइक समात्दा हात काँप्ने र भिडको अगाडि उभिन धकाउने ती शिक्षार्थीहरूमा सिक्ने भोक भने अथाह थियो। तर, प्रशिक्षणका चार दिनहरूले उनीहरूको जीवनमा जादुमयी परिवर्तन ल्याइदियो। शनिबार समापनको दिन दृश्य बिल्कुलै फरक र लोभलाग्दो थियो। पहिलो दिन बोल्न डराउने तिनै महिलाहरूले समापन कार्यक्रमको मञ्च आफैं सम्हाल्नु भएको थियो, उद्घोषण र आफ्नो कला प्रस्तुत गर्दै उत्सवमय माहौल बनाउनु भयो। हिजोसम्म आफूभित्र लुकेको प्रतिभालाई आज उहाँहरूले प्रस्फुटन गर्दा हलमा उपस्थित सबैको छाती गर्वले चौडा भएको थियो।

तालिममा सहभागी महिलाहरूले आफ्नो अनुभव साट्दै सामूहिक रूपमा भन्नुभयो— “सुरुमा समाज र समूहको अगाडि उभिएर बोल्न निकै डर लाग्थ्यो। नसिक्दासम्म म केही गर्न सक्दिनँ कि भन्ने डर हुन्थ्यो। तर यो चार दिनले हाम्रो सोच र जीवन दुवै बदलिदिएको छ। अब हामी जुनसुकै मञ्च र परिस्थितिमा पनि एक सबल महिला भएर कार्यक्रम चलाउन र आफ्ना कुरा राख्न सक्छौँ भन्ने आँट पलाएको छ। वडा कार्यालयले हाम्रो क्षमता बुझेर यो अवसर दिएकोमा हामी कृतज्ञ छौँ।“

 

यस क्षमता विकास तालिमको सहजीकरण ’उज्यालो खबर’का पत्रकार एवं कुशल प्रशिक्षक भूमिराज पराजुलीले गर्नुभएको थियो। छोटो समयमै शिक्षार्थीहरूमा आएको अभूतपूर्व परिवर्तनबाट उत्साहित हुँदै प्रशिक्षक पराजुलीले भन्नुभयो— “सुरुका दिन र आजको दिनमा निकै ठूलो सकारात्मक परिवर्तन आएको छ। चार दिनको समय मात्र त पर्याप्त होइन, हामीले केवल आधारभूत कुराहरू मात्र सिकेका छौँ। तर, यो छोटो अवधिमै तपाइहरू आफैं मञ्च सम्हाल्न सक्ने हुनुभएको देख्दा मलाई निकै खुसी लागेको छ। यस्ता कार्यक्रमले निरन्तरता पाए अझ धेरै उपलब्धि हासिल हुनेछ।“

 

त्यस्तै, दमक वडा नं. ६ का वडा सदस्य कमल श्रेष्ठले तालिमको महत्वमाथि प्रकाश पार्दै भन्नुभयो— “हामी दैनिक जीवनमा धेरै मानिसहरूसँग कुरा गर्छौँ, तर समूहको अगाडि बोल्न धेरैमा डर र संकोच हुन्छ। यो तालिमले त्यो डरलाई आत्मविश्वासमा बदलेको छ, जसले तपाइहरूको सामाजिक र व्यक्तिगत जीवनमा ठूलो परिवर्तन ल्याउनेछ।“

 

कार्यक्रमका सभापति एवं दमक ६ का वडाध्यक्ष टेक बहादुर थापाले सहभागीहरूको प्रगति देख्दा आफू भावुक र हर्षित भएको बताउनुभयो। उहाँले भन्नुभयो— “सफलता रातारात मिल्ने कुरा होइन, यसका लागि निरन्तरता चाहिन्छ। तर, पहिलो दिनको तुलनामा आज अन्तिम दिन हाम्रा दिदीबहिनीहरू आफैंले कार्यक्रम चलाएको देख्दा मलाई गर्व लागेको छ। उहाँहरूको यो उत्साहले वडाको उद्देश्य सफल भएको पुष्टि गर्छ।“

 

उक्त अवसरमा वडा कार्यालयले कुशलतापूर्वक प्रशिक्षण प्रदान गरेकोमा प्रशिक्षक भूमिराज पराजुलीलाई सम्मान–पत्रद्वारा सम्मान गरेको थियो भने तालिममा सहभागी सबै शिक्षार्थी महिलाहरूलाई प्रमाण–पत्र प्रदान गरी उनीहरूको हौसला बढाएको थियो। दमक वडा नं. ६ कार्यालयले यो ४ दिने तालिम वडाका महिलाहरूलाई समाजमा अगाडि बढ्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न एउटा कोसेढुङ्गा सावित हुने अपेक्षा राखेको छ। साथै, आगामी दिनहरूमा पनि महिला सशक्तिकरण र क्षमता अभिवृद्धिका यस्ता शक्तिशाली कार्यक्रमहरूलाई निरन्तरता दिने दृढ प्रतिबद्धता वडाले व्यक्त गरेको छ।

आवाजमा शक्ति हुन्छ र जब त्यो आवाजले सही मञ्च पाउँछ, तब समाज रूपान्तरण हुन समय लाग्दैन। दमकका महिलाहरूले मञ्चबाट सुरु गरेको यो यात्रा अब समाजको नेतृत्व गर्ने दिशामा अघि बढ्नेछ भन्ने वाडाले विश्वास गरेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय