जनकपुर,२४जेठ । नेपाली कांग्रेसका नेता एवम नेपाल भारत युवा संघका केन्द्रिय अध्यक्ष महेन्द्र यादवले रक्सीमाथि प्रतिबन्ध लगाउने कानुन ल्याउन सरकारलाई आग्रह गर्नु भएको छ ।
आइतबार नेपाल भारत युवा संघ, धनुषाद्वारा जनकपुरधाममा आयोजित लागूऔषध विरुद्ध जनचेतना अभियान कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष यादवले भारतको विहार सरकारले लागु गरेको कानुन नेपाल सरकारले पनि लागु गर्न आवश्यक रहेको धारणा राख्नु भएको हो ।
उहाँले मधेश प्रदेशमा विशेष गरी सीमा क्षेत्रमा व्यापक लागूऔषध सेवन गर्ने युवाहरुको संख्या बढ्दै गएकोले प्रदेश सरकारले यसलाई पूर्णतः नियन्त्रण गर्न कानुन निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ । यादवले रक्सी सेवन गर्ने मान्छेले आफूसहित आफ्नो परिवार, समाज र राष्ट्रलाई नै बर्बाद गर्ने गरेको बताउनु भएको छ ।
उहाँले रक्सीबाट सरकारले उठाउने कर भन्दा त्यसको सेवन गरेर विरामी परेपछि सरकारले स्वास्थ्य उपचारमा गर्ने खर्च बढी रहेको जानकारी दिनु भएको छ ।
कार्यक्रममा मधेश प्रदेशका खानेपानी तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले सीमा नाकामै गएर लागूऔषधविरुद्धको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले युवाहरुमा लागूऔषध सेवनको लत देशको भविष्यमाथि नकारात्मक असर पार्ने भएकोले यसलाई नियन्त्रण गर्न संम्वेदनशिल भएर लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लागूऔषध सेवनको सिकार हुनेदेखि त्यसबाट पर्ने असर र कानुनमा रहेका सजायहरुबारे जानकारी गराइएको थियो ।
नेपाल भारत युवा संघ, धनुषाका अध्यक्ष डा।बजरंग यादवले एक जना विद्यार्थीले कम्तीमा १० जना अन्य विद्यार्थी वा समाजका व्यक्तिलाई आगूऔषध सेवनबाट हुने समस्या र कानुनमा उल्लेखित सजायहरुबारे जानकारी गराउन आग्रह गर्नु भएको थियो । उहाँले स्वयम सचेत नभएसम्म लागूऔषधविरुद्धको अभियान सफल हुन नसक्ने उल्लेख गर्नु भएको हो ।
कार्यक्रममा मधेश प्रदेशका सांसद कुमरकान्त झाले अनियन्त्रित रक्सी बेचविखनलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले भारतमा सरकारले तोकेको पसलबाट मात्र रक्सी खरीद गर्न सक्ने व्यवस्था रहेको जानकारी गराउनु भयो ।
उहाँले हाम्रो समाजमा किराना पसलदेखि खाजा पसलसम्ममा रक्सी विक्रि हुने गरेका कारण यसलाई नियन्त्रण र नियमन गर्न आवश्यक रहेको बताउनु भएको छ । भारत जस्तै सरकारले नेपालमा पनि रक्सी विक्री वितरणमा कडाई गर्नुपर्ने सांसद झाको भनाई थियो ।






