ए आई सिक्दै व्यवसायी

प्रविधितर्फ दमकका व्यवसायी, भन्छन्‌ “एआई सिकेनौं भने भोलि पसल नै बन्द हुन सक्छ”

बजार प्रवद्र्धनदेखि योजना निर्माण, ग्राहक व्यवस्थापनदेखि समस्या समाधानसम्म एआई उपयोगी हुन सक्ने

 

दमक। २७। जेष्ठ । व्यापार गर्ने तरिका तीव्र गतिमा बदलिरहेको छ। ग्राहकको रोजाइ, बजारको प्रतिस्पर्धा र डिजिटल प्रविधिको विस्तारले परम्परागत व्यवसाय सञ्चालनको शैलीलाई चुनौती दिइरहेको छ। यस्तै बदलिँदो समयलाई आत्मसात् गर्दै दमकका व्यवसायीहरू कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधितर्फ आकर्षित हुन थालेका छन्।

 

दमकको प्रमुख व्यापारिक केन्द्र मानिने दमक नगरपालिका–६ का व्यवसायीहरूले अब व्यापार केवल पसलमा सामान राखेर मात्रै सम्भव नहुने निष्कर्ष निकाल्न थालेका छन्। “प्रविधिसँग नजोडिने हो भने भविष्यमा पसल नै बन्द हुने अवस्था आउन सक्छ,” भन्ने धारणा सहभागी व्यवसायीहरूबाट सुनिन थालेको छ।

 

यही आवश्यकतालाई मध्यनजर गर्दै दमक नगरपालिका वडा नम्बर ६ ले स्थानीय उद्योगी तथा व्यवसायीहरूका लागि एकदिने आधारभूत एआई तालिम सञ्चालन गरेको छ। व्यवसायलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मंगलबार सम्पन्न तालिममा करिब ४५ जना व्यवसायीको सहभागिता रहेको थियो।

 

दमकको आर्थिक गतिविधिको मुख्य केन्द्रका रूपमा रहेको वडा नम्बर ६ बाट नगरपालिकाको ठूलो राजस्व संकलन हुने गर्दछ। यही क्षेत्रका व्यवसायीहरू समयअनुसार परिवर्तन हुन सके मात्र स्थानीय अर्थतन्त्र पनि बलियो बन्ने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो।

उहाँका अनुसार नयाँ प्रविधिको प्रयोगबाट व्यवसायलाई अझ प्रभावकारी बनाउन, ग्राहकसम्म छिटो पुग्न र बजारमा टिक्न सक्ने क्षमता विकास गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्नेछ।

 

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै दमक उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष भगवान बस्नेतले अहिले धेरै व्यवसायी सामाजिक सञ्जालमार्फत व्यापार गरिरहे पनि त्यसलाई अझ व्यवस्थित, आकर्षक र परिणाममुखी बनाउन एआई अत्यन्त उपयोगी माध्यम बन्न सक्ने बताउनुभयो।

 

मंगलबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन भएको तालिममा इटहरीका एआई प्रशिक्षक तथा अध्येता लिलाराज भट्टराईले सहभागीहरूलाई विभिन्न एआई उपकरणको प्रयोगबारे व्यवहारिक प्रशिक्षण दिनुभएको थियो।

 

तालिमका क्रममा एआईलाई सही निर्देशन अर्थात् ‘प्रम्प्ट’ कसरी दिने, व्यवसाय प्रवद्र्धनका लागि आकर्षक ग्राफिक्स तथा तस्बिर कसरी तयार गर्ने, सामाजिक सञ्जालका लागि भिडियो सामग्री कसरी बनाउने, गीत तथा अडियो सामग्री कसरी सिर्जना गर्ने, र दैनिक व्यवसायिक समस्या समाधानमा एआईलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

 

व्यवसायीहरूका अनुसार तालिमले केवल प्रविधिको सामान्य जानकारी मात्र दिएको छैन, व्यवसाय सञ्चालनका नयाँ सम्भावना र सोचसमेत खुला गरिदिएको छ। बजार प्रवद्र्धनदेखि योजना निर्माण, ग्राहक व्यवस्थापनदेखि समस्या समाधानसम्म एआई उपयोगी हुन सक्ने अनुभव उनीहरूले प्राप्त गरेका छन्।

सहभागीहरूले सिकेका सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउँदै अब सामाजिक सञ्जाल, प्रचारप्रसार र व्यवसायिक योजना निर्माणमा एआईको प्रयोग बढाउने बताएका छन्।

प्रशिक्षक लिलाराज भट्टराईले यो तालिम एआईको आधारभूत परिचय मात्र भएको उल्लेख गर्दै व्यवसाय क्षेत्रका लागि अझ धेरै उन्नत र विशिष्टिकृत उपकरण उपलब्ध रहेको बताउनुभयो। तर आधारभूत रूपमा सिकाइएका विधिहरूलाई नियमित प्रयोगमा ल्याउन सके पनि व्यवसायमा उल्लेखनीय सुधार ल्याउन सकिने उहाँको विश्वास छ।

 

विश्वभर कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र गतिमा बढिरहेका बेला स्थानीय तहबाट व्यवसायीहरूलाई प्रविधिसँग जोड्ने प्रयासलाई सकारात्मक रूपमा हेरिएको छ।
बदलिँदो समयसँगै आफूलाई परिवर्तन गर्न नसक्ने व्यवसाय पछाडि पर्न सक्छन्। तर नयाँ प्रविधिलाई अवसरका रूपमा स्वीकार गर्ने व्यवसायीका लागि एआई भविष्य निर्माणको शक्तिशाली साधन बन्न सक्छ।

दमक नगरपालिका वडा नम्बर ६ को आयोजनामा सम्पन्न उक्त तालिमको प्राविधिक सहकार्य भने पूर्व नेपाल मिडिया हाउस प्रालि दमकले गरेको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको