दमक, २९ | जेठ । झापाको कमल गाउँपालिका–५ लवडाँडास्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले अवैध सुर्तीसहित एउटा सिटी सफारी बरामद गरेको छ।
आज बिहान करिब १० बजे लवडाँडाबाट दमकतर्फ आउँदै गरेको प्र–०१–०१–००१ ह ८०२४ नम्बरको सिटी सफारीलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याइएको सुर्तीका तीन बोरा फेला परेको प्रहरीले जनाएको छ। बरामद सुर्तीको अनुमानित मूल्य २५ हजार रुपैयाँ रहेको छ। साथै करिब दुई लाख रुपैयाँ मूल्य बराबरको सिटी सफारी समेत नियन्त्रणमा लिइएको छ।
बरामद गरिएको सामान र सवारी साधनको कुल अनुमानित मूल्य दुई लाख २५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
घटनापछि सिटी सफारी चालक फरार भएका छन्। प्रहरीले सवारी साधन र बरामद सामानलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान अघि बढाएको छ। फरार चालकको खोजी कार्य जारी रहेको जनाइएको छ।









