काठमाडौं,३ असार । नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकार संसदप्रति उत्तरदायी नभएको आरोप लगाउनु भएको छ । उहाँले संविधानको धारा ७६(१०) ले सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही हुने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै उक्त संवैधानिक व्यवस्थाको पालना सरकारले नगरेको दाबी गर्नु भएको छ ।
‘हाम्रो संविधानको धारा ७६(१०) ले सरकारलाई संसदप्रति उत्तरदायित्व उल्लेख गरेको छ । संविधानप्रति उत्तरदायी हुने र जवाफदेही हुने सरकारको कर्तव्यलाई पालना गर्नुको सट्टा सरकारले संसदको हुर्मत लिने गरी काम गरिरहेको छ,’ उहाँले भन्नु भयो।सांसद शर्माले सरकारका गतिविधिका विषयमा आफूहरूले पटक–पटक संसदमा प्रश्न उठाउँदै आएको पनि बताउनु भयो । उहाँले पछिल्लो सन्दर्भमा प्रधानमन्त्रीले संसदको रोष्ट्रम प्रयोग गरेर देशको सीमाबारे दिएको अभिव्यक्ति गलत भएको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
‘यस सन्दर्भमा हामीले पटक पटक संसदमा कुरा उठाएका छौं । पछिल्लो सन्दर्भमा संसदको रोष्ट्रम प्रयोग गरेर प्रधानमन्त्रीले देशको सिमाबारे दिएको गलत अभिव्यक्ति सच्याउन आवश्यक छ,’ उहाँले भन्नु भयो। उहाँले सभामुखले उक्त विषयमा रुलिङ नगरेको र सरकार पनि संसदमा आएर स्पष्ट जवाफ दिन नआएको भन्दै आपत्ति जनाउनु भयो । ‘न सभामुखले रुलिङ गर्नुहुन्छ, न सरकार जवाफदेही भएर संसदमा आएर जवाफ दिन्छ,’ उहाँले भन्नु भयो।









