झापा, कमल। कमल गाउँपालिका–६ स्थित सहिद मार्ग टोल विकास संस्थाको आयोजना तथा वडा नम्बर ६ को सहकार्यमा शनिबार वृक्षारोपण, सडक सरसफाइ, सडक सौन्दर्यीकरण तथा आराम चौतारा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष भीमप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई प्रमुख अतिथि तथा वडा नम्बर ६ का वडाध्यक्ष नगेन्द्र भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा साना किसान सहकारी संस्थाका प्रतिनिधि, मङ्गलमय टोल विकास संस्थाका अध्यक्ष गणेशप्रसाद प्रधान, डीपीएल कमलका अध्यक्ष दिवस खतिवडा, समाजसेवी युवराज न्यौपाने लगायत स्थानीय बुद्धिजीवी तथा गाउँवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राईले जात, धर्म, राजनीति र व्यक्तिगत आस्थाभन्दा माथि उठेर आफ्नो टोल, गाउँ र समाजको विकासमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीयको एकता, श्रमदान र सामूहिक सहभागिताबाट मात्रै दिगो विकास सम्भव हुने बताउँदै “आफ्नो टोल आफैं बनाऔँ” अभियानलाई सबैले आत्मसात गर्न आग्रह गर्नुभयो।
कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा सडक बत्ती जडान, सडक सरसफाइ, सडक पेटीमा विभिन्न प्रजातिका फूल तथा बिरुवा रोपेर वातावरण संरक्षण र सौन्दर्यीकरणको कार्य गरिएको थियो। साथै स्थानीयवासीलाई विश्रामका लागि निर्माण गरिएको आराम चौताराको पनि औपचारिक उद्घाटन गरिएको थियो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष युवराज न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव जगेन्द्र गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
स्थानीयवासीको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले वातावरण संरक्षण, सार्वजनिक पूर्वाधार विकास र सामुदायिक एकतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।









