विराटनगर,२४ असार । विराटनगर–८ का अभिषेक गिरीमाथि निर्माण व्यवसायीको करोडौं रुपैयाँ बराबरको सम्पत्ति हडपेर श्रीमतीको नाममा नामसारी गरेको आरोप लागेको छ।
सरकारी ठेक्का मिलाइदिने प्रलोभन देखाएर जग्गा तथा अन्य सम्पत्ति नियन्त्रणमा लिएको आरोपमा सीआईबीले गिरीमाथि ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार गिरीले काठमाडौं, मोरङ र धनकुटासहितका स्थानमा करोडौं मूल्यका जग्गा श्रीमती सोनु आचार्यको नाममा नामसारी गरेको देखिएको छ।
हेटौंडाका निर्माण व्यवसायी सुभाष श्रेष्ठको जाहेरीपछि सुरु भएको अनुसन्धानमा धम्की, खाली चेकको दुरुपयोग र निर्माण उपकरण बिक्री गरेको आरोपसमेत लगाइएको छ।
सीआईबीले सम्पत्तिको स्रोत र कारोबारबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। तर आरोप प्रमाणित भने अदालतबाट हुन बाँकी छ।









