काठमाडौँ, २६ असार ।काठमाडौँमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।
अस्पतालको बर्न सेन्टरमा उपचाररत नेपालीलाई चिकित्सकहरूले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।
उनलाई वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीर ६५ देखि ७० प्रतिशत सम्म जलेको थियो। उनको उपचारका लागि वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो।
उक्त टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा। निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा। डा.रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जना संलग्न थिए।
नेपालीको निधन भएपछि प्रहरीले घटनाबारे अनुसन्धान र सोधपुछका लागि काठमाडौँ महानगरपालिकाका तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।









