दमक । २६ असार । झापाको दमक–५ स्थित ट्राफिक प्रहरी कार्यालयको उत्तरतर्फ रहेको बेला क्याफेमा कार्यरत एक महिला कर्मचारीमाथि सोही क्याफेका व्यवस्थापकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। घटनापछि क्याफेले आरोपित व्यवस्थापकलाई सेवाबाट हटाएको छ भने पीडित पक्षले कानुनी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गर्न पुगेको जनाएको छ।
पीडितले तयार पारेको जाहेरीअनुसार व्यवस्थापक डिल्ली कुइकेलले लामो समयदेखि सामाजिक सञ्जालमार्फत अनुचित आशयका सन्देश पठाउने, कार्यस्थलमा यौनजन्य टिप्पणी गर्ने तथा असहज बनाउने व्यवहार गर्दै आएका थिए। जाहेरीमा क्याफेको क्याबिनमा एक्लै खाजा खाइरहेका बेला आरोपितले शरीरका संवेदनशील अंगमा जबर्जस्ती छोएको र प्रतिकार गर्दा पनि नछोडेको उल्लेख गरिएको छ।
पीडितका अनुसार घटनापछि उहाँले आफ्ना साथीहरूलाई जानकारी गराउनु भएको थियो । साथीहरूको सुझावपछि उहाँ कानुनी न्यायको खोजी गर्दै बिहीबार इलाका प्रहरी कार्यालय दमक पुग्नु भएको थियो । पीडित पक्षले प्रहरीमा जाहेरी दर्ता हुन नसकेको र प्रारम्भमा आफूलाई छलफलतर्फ लैजान खोजिएको दाबी गरेको छ।
त्यसपछि आरोपितबाट धम्की आएको भन्दै पीडित शुक्रबार पुनः जाहेरी दर्ताका लागि प्रहरी कार्यालय पुग्नुभयो ।
यता, क्याफे सञ्चालक ज्योति प्रसाईले व्यवस्थापक र महिला कर्मचारीबीच भएका व्यक्तिगत गतिविधिबारे आफूलाई पूर्वजानकारी नभएको बताउनु भएको छ । तर घटना बाहिर आएपछि व्यवस्थापन पक्ष, आरोपित, पीडित तथा अन्य सरोकारवालाबीच छलफल भएको जानकारी दिँदै उहाँले छलफलका क्रममा व्यवस्थापकले आफ्नो गल्ती स्वीकार गरेको, पीडितको खुट्टा ढोगेर माफी मागेको र त्यसलगत्तै उनलाई कामबाट हटाइएको जानकारी दिनुभयो ।
“पीडितले व्यवहारिक न्याय पाएको जस्तो हामीलाई लागेको छ। तर उहाँहरूले कानुनी प्रक्रिया अघि बढाउन चाहनुहुन्छ भने क्याफे सञ्चालकका रूपमा आवश्यक सबै सहयोग गर्न हामी प्रतिबद्ध छौं ।’’ प्रसाईले उज्यालो खवरसगको कुराकानीका क्रममा बताउनु भयो ।
घटनाबारे आरोपित व्यवस्थापक डिल्ली कुइकेलसँग प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्ने प्रयास गरिएको थियो। पहिलो पटक फोन उठाए पनि उहाँले कुनै प्रतिक्रिया दिन चाहनु भएन भने त्यसपछि गरिएको सम्पर्क प्रयास सफल हुन सकेन।
यता, इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी हरीबहादुर बस्नेतले भने पीडित पक्षले लगाएको आरोपसँग असहमति जनाउनु भएको छ । उहाँका अनुसार बिहीबार प्रहरी कार्यालयभित्र प्रहरीको उपस्थितिमा कुनै औपचारिक छलफल भएको थिएन।
डीएसपी बस्नेतले पीडितलाई शुक्रबार जाहेरी लिएर आउन आग्रह गरिएको र उहाँले उल्लेख गरेका घटनाका आधारमा कुन–कुन कानुन आकर्षित हुन सक्छन् भन्नेबारे सुझाव समेत दिइएको बताउनु भयो । “जाहेरी दर्ताका लागि आवश्यक प्रक्रिया र प्रारम्भिक आधार पूरा भएपछि उजुरी दर्ता गरी घटनाबारे कानुनबमोजिम अनुसन्धान अघि बढाइन्छ,“ डि एस पि बस्नेतले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
पीडित पक्षका अनुसार घटनासँग सम्बन्धित ह्वाट्सएप संवाद, जाहेरीको प्रतिलिपि तथा अन्य प्रमाण सुरक्षित अवस्थामा रहेका छन्।
घटनामा कुन कानुन आकर्षीत हुन्छ ?
यदि जाहेरीमा उल्लेख गरिएका आरोप अनुसन्धानबाट पुष्टि भएमा यो घटना फौजदारी अपराध संहिता, २०७४ अन्तर्गतको यौन दुर्व्यवहार सम्बन्धी व्यवस्थाअन्तर्गत अनुसन्धान हुन सक्ने अधिवक्ता कोपिला अधिकारीले जानकारी दिनुभयो । कसैको इच्छाविपरीत यौन आशयले शरीर छुने, यौनजन्य व्यवहार गर्ने वा यौन दुर्व्यवहार गर्ने कार्य फौजदारी कसुरका रूपमा हेर्न सकिने उहाँले बताउनु भएको छ ।
घटना कार्यस्थलमा भएको आरोप रहेकाले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ समेत आकर्षित हुन सक्ने उहाँले बताउनु भएको छ । उक्त ऐनले कार्यस्थलमा अश्लील सन्देश पठाउने, यौन आशयका टिप्पणी गर्ने, अनिच्छित रूपमा छुने वा कुनै कर्मचारीलाई यौनजन्य रूपमा असहज बनाउने कार्यलाई निषेध गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।









