चितवन, २७ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने तथा कृषि सामग्री लुकाएर मूल्यवृद्धि गर्नेमाथि कडा कारबाही गरिने चेतावनी दिनुभएको छ।
चितवनका विभिन्न स्थानमा कृषि क्षेत्रको छड्के अनुगमन गर्ने क्रममा मन्त्री चौधरीले किसान, उपभोक्ता तथा सर्वसाधारणलाई त्यस्ता गैरकानुनी गतिविधिबारे मन्त्रालयको हटलाइनमा तत्काल सूचना दिन आग्रह गर्नुभयो। उहाँले उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरी आकस्मिक अनुगमन गरिने र दोषी पाइएमा कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पार्नुभयो।
अनुगमनका क्रममा मन्त्री चौधरीले स्थानीय किसानहरूसँग प्रत्यक्ष भेटघाट गरी मल, बीउ, विषादीको उपलब्धता, उत्पादन लागत, सिँचाइ तथा बजार व्यवस्थापनमा भोग्नुपरेका समस्या र समसामयिक चुनौतीबारे विस्तृत जानकारी लिनुभएको थियो।
किसानका गुणासा र समस्याहरूलाई तत्काल समाधान गर्न मातहतका सम्बन्धित निकायलाई निर्देशन दिँदै मन्त्री चौधरीले भन्नुभयो, “कृषि उत्पादन वृद्धि र किसानको हित संरक्षण गर्नु नै सरकारको मुख्य प्राथमिकता हो। यसमा बाधा पुर्याउने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइनेछ।”
मन्त्रालयले कृषि क्षेत्रमा हुने अनियमितता रोक्न र किसानलाई सहज रूपमा सेवा सुविधा उपलब्ध गराउन आगामी दिनमा अनुगमन कार्यलाई थप तीव्र बनाउने जनाएको छ।









