काठमाडौँ, २७ असार । काठमाडौँको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ। वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जानकारी भाइ दीपक राउतले दिएका छन्।
शनिबार बिहान करिब ६ बजे घरमा सोह्र श्राद्धको तयारी भइरहेका बेला राउतले घरबाहिर पार्किङ गरिएको स्कुटरबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याई आगो लगाएका थिए। आगो लागेको थाहा पाउनासाथ परिवारका सदस्य, छिमेकी तथा नजिकैको होस्टेलमा बस्ने युवाहरूले तत्काल आगो निभाएर उनलाई उद्धार गरी वीर अस्पताल पुर्याएका थिए। चिकित्सकहरूको अथक प्रयासका बावजुद उनको ज्यान जोगाउन नसकिएको परिवारले जनाएको छ।
पारिवारिक स्रोतका अनुसार राउतको करिब एक वर्षअघि स्पाइनल कर्ड मेरुदण्ड को शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएका कारण उनी केही समयदेखि गम्भीर मानसिक तनावमा थिए। उनको थप उपचारको तयारी भइरहेकै अवस्थामा यो दुःखद घटना घटेको परिवारको भनाइ छ।
यसैबीच, घटनालाई लिएर केही सञ्चारमाध्यममा आएका कपोलकल्पित र भ्रामक समाचारप्रति राउत परिवारले गम्भीर आपत्ति जनाएको छ। घटनालाई पारिवारिक विवादसँग जोडेर अनुमानका भरमा समाचार सम्प्रेषण गरिएको भन्दै परिवारले दुःख व्यक्त गरेको छ।
मृतकका भाइ दीपक राउतले शोकमा डुबेको परिवारलाई थप आघात पुग्ने गरी आधारहीन समाचार प्रकाशन नगर्न आग्रह गर्नुभयो। प्रत्येक घटनाको प्रकृति र पृष्ठभूमि फरक हुन्छ। त्यसैले घटनाको वास्तविकता बुझेर र तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गरिदिनुहुन हामी सञ्चारमाध्यमहरूसँग आग्रह गर्दछौँ, उहाँले भन्नुभयो।
राउत परिवारले यस्ता संवेदनशील र दुःखद घटनाहरूमा जिम्मेवार, संयमित र मर्यादित पत्रकारिता अपनाउन तथा प्रकाशित भ्रामक समाचारहरू तत्काल सच्याउन समेत सम्बन्धित सञ्चारमाध्यमहरूसँग अनुरोध गरेको छ।









