झापा,२९ असार । झापाको भद्रपुर नगरपालिका–३ ज्ञानेचोकबाट प्रहरीले अवैध रूपमा लुकाएर राखेको ठूलो परिमाणको खर्बुजाको बीउ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले स्थानीय भीमलाल सुवेदीको घरमा आइतबार छापामारी लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बीउ बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाका अनुसार ९४ वटा बोरामा प्याक गरी राखिएको अवस्थामा कुल ३ हजार ९२० केजी ९करिब ३९ क्विन्टल) खर्बुजाको बीउ फेला परेको हो। अवैध रूपमा भन्सार छलेर भित्र्याइएको आशंका गरिएको उक्त बीउलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय झापामा पठाउने तयारी भइरहेको डीएसपी अवाले जानकारी दिनुभयो।
झापा प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा हुने अवैध तस्करी र राजस्व छलीविरुद्धको निगरानीलाई तीव्रता दिएको छ।









