काठमाडौं,३१ असार । प्रि–आईपीओको नाममा सर्वसाधारणबाट पैसा उठाएर चलखेल गर्ने, झुटा प्रचार गर्ने र अवैध रूपमा सेयर बिक्री गर्नेहरू अब कारबाहीको दायरामा आउने भएका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले आईपीओ आउनुअघि नै सेयर बिक्री गर्ने वा मूल्यमा चलखेल गर्ने गतिविधि कानुनविपरीत भएको स्पष्ट पारेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समिति बैठकमा उनले भने, “प्रि–आईपीओ अवैध कुरा हो। यस्ता गतिविधि भएको जानकारी पाए तत्काल कारबाही हुन्छ। गैरकानुनी कारोबारलाई राज्यले वैधानिकता दिन सक्दैन।”
सेबोनले अब पुँजी बजारमा प्रवेश गर्ने कम्पनीमाथि कडा निगरानी गर्ने जनाएको छ। योग्य, पारदर्शी र सुशासन भएका कम्पनीलाई मात्र बजारमा ल्याउने नीति अघि बढाइएको अध्यक्ष भट्टले बताए।
विशेषगरी सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट ‘आईपीओ आउँदैछ’, ‘अहिले नै सेयर किन्नुहोस्’ भन्दै सर्वसाधारणलाई भ्रममा पार्ने गतिविधि रोक्न नियामक निकाय सक्रिय हुने भएको छ।
सेबोनको चेतावनी स्पष्ट छ–आईपीओको नाममा लगानीकर्तालाई झुक्याउने, पैसा उठाउने र बजारमा चलखेल गर्ने छुट अब कसैलाई छैन। नियमविपरीत काम गर्ने जोसुकै भए पनि कारबाहीको भागीदार बन्नेछन्।









