काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गर्नु भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले गणेश नेपाली, अश्विन राउत र विवेक मण्डलको आत्मदाहका घटनाको पीडा सेलाउन नपाउँदै रौतहटका २८ वर्षीय गौतम कुमार सहनीले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको घटना सार्वजनिक भएको उल्लेख गर्नु भयो ।
उहाँले सरकारले रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए पनि बेरोजगारी र निराशाबाट गुज्रिरहेका युवामा आशा जगाउन नसकेको टिप्पणी गर्नु भएको छ।
उहाँले भन्नु भयो,‘देशमा रोजगार दिने घोषणा गरेको सरकारले बेरोजगार भएर निसास्सिएका युवाहरूलाई आशा समेत जगाउन सकेन। दिनप्रतिदिन मृत्युवरणका घटनाहरू बढिरहेका छन्। यो सरकार प्रतिको निराशाको अभिव्यक्ति हो। सरकारले यस्ता घटना रोक्न तुरुन्तै प्रभावकारी कदम चालोस।’ सांसद शर्माले बागलुङको धोरपाटन नगरपालिका–२ सालमकोटमा मावली घरको आँगनमा खेलिरहेका बेला पर्खाल भत्किँदा पाँच वर्षीय आशीष भण्डारी को घटनास्थलमै मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नु भयो। उहाँले मृतक बालक प्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसँग माग गर्नु भयो।
त्यस्तै बागलुङकै काठेखोला गाउँपालिका–७ र ८ को सिमानास्थित रेसाखोलामा खोलो तर्ने क्रममा गुल्मीको मिसीकोटकी ४५ वर्षीया मीना कार्की बेपत्ता भएको उल्लेख गर्दै खोजी कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिन सरकारसँग आग्रह गर्नु भयो। सांसद शर्माले सिंहदरबार परिसरमा अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी आन्दोलनमा रहेको उल्लेख गर्दै तीनै तहका सरकारअन्तर्गत कार्यरत करिब ५० हजार कर्मचारी रोजगारी गुमाउने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले १० देखि २५ वर्षसम्म निरन्तर सेवा गरेका कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नु भयो।
बयस्तै, काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिन थालेको उल्लेख गर्दै उहाँले रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने माग समेत गर्नु भयो ।









