साउने संक्रान्ति

सूर्य कर्कट राशिमा प्रवेश, यस्तो छ धार्मिक तथा शास्त्रीय महत्त्व

काठमाडौं,१ साउन । हिन्दु धर्मावलम्वीहरुले साउने संक्रान्ति पर्व मनाइरहेका छन् । यस दिन सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले कर्कट संक्रान्ति पनि भनिन्छ । साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको विशेष महत्त्व छ । यससँगै गाउँघरमा साँझपख सो दिन लुतो फ्याँक्ने प्रचलन पनि रहिआएको छ । अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायो लगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ । यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ ।

 

यसै संदर्भमा उपप्राध्यापक डा. नारायण प्रसाद निरौलाले माघे सङ्क्रान्तिबाट उत्तरायण सुरु हुने र साउने सङ्क्रान्तिबाट दक्षिणायन प्रारम्भ हुने हिन्दू धार्मिक मान्यता रहेको सुनाउनु भयो। उहाँका अनुसार साउने सङ्क्रान्तिबाट दक्षिणायनको आरम्भ हुने भएकाले यसलाई ‘अयन सङ्क्रान्ति’ पनि भनिन्छ । उपप्राध्यापक डा.निरौलाले भन्नु भयो,‘विशेषगरी साउनबाट दक्षिणायन आरम्भ हुन्छ, अयनको परिवर्तन हुन्छ । उत्तरायण माघे सङ्क्रान्तिबाट र दक्षिणायन आरम्भ साउनको सङ्क्रान्तिबाट हुन्छ ।’

 

उहाँका अनुसार दक्षिणायनको सुरुवातसँगै देवताहरूको रात्रि र दैत्यहरूको दिनको आरम्भ हुने धार्मिक विश्वास छ । यही कारण दैत्यजन्य भय तथा अशुभ शक्तिबाट रक्षा होस् भन्ने कामनासहित यस दिन कण्डारक देवताको पूजा गर्ने परम्परा रहेको उहाँले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘विशेषगरी दक्षिणायनको समयमा देवताका लागि रात्रिको साथै राक्षस अर्थात् दैत्यको दिनको आरम्भ हुने भएकाले राक्षसजन्य, दैत्यजन्य भय नहोस् भन्नका लागि कण्डारकको पूजा गरिन्छ । जसका कारण हामीलाई स्वस्थ, आरोग्य प्राप्ति हुने विश्वास छ ।’ उहाँका अनुसार यस दिन सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले पनि साउने सङ्क्रान्तिको ज्योतिषीय महत्व रहेको छ । प्रत्येक सङ्क्रान्तिलाई पुण्य प्राप्त गर्ने अवसरका रूपमा लिइने भएपनि उत्तरायण र दक्षिणायन सुरु हुने दुई अयन सङ्क्रान्तिलाई विशेष महत्व छ ।

 

उहाँले भन्नु भयो, ‘अयन सङ्क्रान्ति दक्षिणायनको आरम्भ भएको सङ्क्रान्ति हो । सूर्य मिथुन राशिलाई पार गरेर साउनबाट कर्कट राशिमा प्रवेश गर्नुहुन्छ । त्यसैले हरेक सङ्क्रान्तिहरुको विशेष महिमा छ । विशेषत सङ्क्रान्तिलाई दान पूण्यका लागि उत्तम मानिन्छ । स्नान, दान आदि कर्म गर्नका लागि सङ्क्रान्ति उत्तम रहने भएकाले दुईटा अयन सङ्क्रान्तिहरु विशेष मानिन्छन।’उहाँले सङ्क्रान्तिका अवसरमा लुतो फाल्ने लगायतका सांस्कृतिक परम्पराले पनि समाजमा स्वास्थ्य, आरोग्य र शुभकामनाको सन्देश दिने बताउनु भयो । उहाँले यस्ता संस्कारहरूले धार्मिक विश्वाससँगै जनस्वास्थ्य र सामाजिक एकताको भावना पनि बलियो बनाउने बताउनु भयो ।

 

उहाँका अनुसार हिन्दू वैदिक मान्यतामा एक ब्रह्मदिन बराबर चार अर्ब ३२ करोड वर्ष अर्थात् एक कल्प मानिन्छ । वर्तमान कल्पमा करिब एक अर्ब ९५ करोड ५८ लाख ८५ हजार १२७ वर्ष व्यथित भइसकेको धार्मिक गणना रहेको उल्लेख गर्दै उनले यही कालदेखि सङ्क्रान्तिसम्बन्धी गणना पद्धति विकसित हुँदै आएको बताउनु भयो । उहाँले विभिन्न समुदायमा यस पर्वलाई आ–आफ्नै परम्परा, संस्कृति र विधिअनुसार मनाउने चलन रहेको बताउनु भयो । उहाँले धार्मिक आस्थाका साथै स्थानीय संस्कृतिको संरक्षण र निरन्तरतामा पनि साउने सङ्क्रान्तिले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नु भयो। उहाँले भन्नु भयो, ‘मनाउने आ—आफ्ना पद्धतिहरु छन्, आफ्ना संस्कृतिहरु छन्, आफ्ना चाडपर्वहरु आफ्नो तरिकाले पनि मनाउन सकिन्छ । र धार्मिक अर्थात खगोलीय रुपमा पनि यसको परिदृश्य प्रत्यक्ष दर्शन पनि गर्न सक्छौं । विशेषगरी यो महिनामा वर्षा ऋतुको पनि आरम्भ हुन्छ । यस सँगसँगै हाम्रा संस्कृतिहरु पनि साथमा जोडिएर आएका हुन्छन।’

 

उहाँले सङ्क्रान्तिको बिहान पवित्र स्नान गर्ने, दान–पुण्य गर्ने, भगवानको आराधना गर्ने तथा सत्यनारायण भगवानको पूजा गर्ने जस्ता धार्मिक कर्महरू गर्न शास्त्रीय व्यवस्था रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘सङ्क्रान्तिको प्रातःकालीन समयमा स्नान गर्ने, दान गर्ने, भगवानको आराधना गर्ने, सत्यनारायण पूजा गर्नेलगायतका कर्महरु गर्न सक्ने शास्त्रीय व्यवस्था छ । यसका साथसाथै आफ्नो संस्कृति वा परम्परा अनुसार आफ्ना अन्य कर्महरु गर्न सकिन्छ ।’ उहाँका अनुसार लुतो फाल्ने भन्नुको मतलब कण्डारकको पूजा गर्नु पनि हो । कण्डारकलाई राक्षसका देवताका रूपमा मानिने विश्वास छ ।

 

उहाँले भन्नु भयो, ‘लुतो फाल्दा कण्डारकको पूजा हुन्छ । कण्डारक भनेका राक्षसका देवताहरु हुन् । बाह्य छालाजन्य लगायतका रोग—व्याधिहरुले भय दिने भएकाले उनको पूजा गरेपछि त्यो भयबाट मुक्ति भइन्छ भन्ने विश्वास छ । किनकी लुतो भनेको पनि रोग हो ।’ डा.निरौलाले ‘लुतो फाल्ने’ पर्व नेपाली समाजमा रोग–व्याधिबाट मुक्ति र आरोग्यको कामना गर्दै मनाइने सांस्कृतिक परम्परा भएको बताउनु भयो । ‘लुतो’ शब्दले रोगलाई नै संकेत गर्ने भएकाले ‘लुतो फाल्ने’ भन्नुको अर्थ रोगलाई त्यागेर स्वस्थ जीवनको कामना गर्नु रहेको उहाँले बताउनु भयो । उहाँले यस पर्वमा रोगलाई प्रतीकात्मक रूपमा फाल्ने परम्परा रहेको बताउनु भयो । उहाँका अनुसार बिहान स्नान, दानलगायतका धार्मिक कर्म सम्पन्न गरिन्छ भने साँझ प्रदोषकालमा विशेष प्रकारका सामग्री संकलन गरी कण्डारकको विधिपूर्वक पूजा गर्ने चलन छ ।

 

साउने सङ्क्रान्तिको अवसरमा धार्मिक रूपमा स्नान, दान तथा कण्डारक पूजाको विशेष महत्त्व रहेको बताउँदै उहाँले यस दिन देवीदेवतालाई नयाँ फलफूल र अन्नबाली अर्पण गर्ने परम्पराले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको बताउनु भयो । डा. निरौलाका अनुसार वैज्ञानिक दृष्टिकोणबाट हेर्दा साउने सङ्क्रान्ति प्रकृतिको ऋतु परिवर्तनसँग जोडिएको समय हो । उहाँले साउन र भदौ वर्षा ऋतुका महिना भएकाले यस अवधिमा अत्यधिक वर्षा हुनु प्राकृतिक चक्रको हिस्सा भएको बताउनु भयो । मौसममा हुने सामान्य उतारचढावका बाबजुद वर्षा ऋतुको विशेषता र त्यससँग सम्बन्धित प्राकृतिक परिवर्तनलाई आधुनिक विज्ञानले पनि स्वीकार गरेको उहाँले बताउनु भयो । खगोलीय दृष्टिले पनि साउने सङ्क्रान्तिको विशेष महत्त्व रहेको बताउदै यस अवधिमा सूर्य कर्कट राशिमा प्रवेश गर्ने भएकाले यसको खगोलीय आधार रहेको बताउनु भयो।

 

हरेक स्थानका आफ्नै सांस्कृतिक परम्परा र अभ्यास भएकाले सबै ठाउँमा एउटै विधि र संस्कार लागू नहुने उहाँले बताउनु भयो । उहाँका अनुसार स्थानीय संस्कृति र परम्पराअनुसार केही भिन्नता हुनु स्वाभाविक प्रक्रिया हो । उहाँले शास्त्रीय मान्यता र परम्पराले निर्देश गरेका विधि–विधानलाई अवलम्बन गर्दै साउन सङ्क्रान्ति मनाउनु उपयुक्त हुने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनर प्रधानमन्त्री शाहबीच छलफल

काठमाडौं,१ साउन । प्रधानमन्त्री बालेन शाहले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन नेपालका पदाधिकारीसँग जुत्ता उद्योगका समस्या र समाधानका उपायबारे छलफल गर्नु भएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को