काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको छ । कांग्रेसको १२औँ ‘ग्रीन टेबल’ कार्यक्रम अन्तर्गत आयोजित ‘मानव–वन्यजन्तु द्वन्द्व र सुरक्षित सहअस्तित्व’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले यस विषयमा व्यापक छलफल गरी सुझाव सहितको दस्तावेज तयार गरिने जानकारी दिनु भयो ।
उहाँले उक्त दस्तावेज स्थानीय सरकार तथा संसदमा रहेका सांसदहरूमाझ पनि पठाइने बताउनु भयो । थापाले भन्नु भयो, ‘नागरिकको जीवनसँग जोडिएको यो अत्यन्तै महत्वपूर्ण विषय हो। यसलाई राजनीतिक दलले समाधान गर्नुपर्ने विषयका रूपमा लिनुपर्छ भन्ने हाम्रो धारणा छ । यस सम्बन्धमा छलफल गरेर एउटा दस्तावेज तयार गर्छौं। त्यसपछि स्थानीय सरकारलाई पठाउँछौं र संसदमा पनि साथीहरूमाझ प्रस्तुत गर्छौं ।’ उहाँले राजनीतिक दलहरू नागरिकका दैनिक जीवनसँग सम्बन्धित यस्ता विषयप्रति पर्याप्त गम्भीर हुन नसकेको पनि स्वीकार गर्नु भयो।
उहाँका अनुसार राजनीतिक दलहरू प्रायः ठूला राजनीतिक मुद्दामै केन्द्रित हुने भएकाले मानव–वन्यजन्तु द्वन्द्वजस्ता नागरिकका सरोकारका विषयले पर्याप्त प्राथमिकता पाउन सकेका छैनन् । ‘राजनीतिक दलका कार्यालयमा यस्ता विषयले कहिल्यै प्रवेश पाउँदैनन्। हामी ठूला–ठूला विषयमै अलमलिएका हुन्छौं। यी ठूला राजनीतिक मुद्दा होइनन्, तर नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका महत्वपूर्ण विषय हुन्। यसमा व्यापक बहस हुनुपर्छ र समाधान पनि हामीले नै खोज्नुपर्छ,’ उहाँले भन्नु भयो।









