अर्थपूर्ण उत्सव

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।

दमक, ४ साउन ।वार्षिक उत्सव भन्नेबित्तिकै प्रायः भोजभतेर, सम्मान, मञ्च र औपचारिक भाषणको दृश्य आँखाअघि आउँछ। तर, दमकका होलसेल व्यवसायीहरूले यसपटक आफ्नो उत्सवको अर्थ नै फेरिदिएका छन्। उनीहरूले उत्सवलाई खर्चिलो प्रदर्शनको माध्यम होइन, अभावसँग संघर्ष गरिरहेका बालबालिकाको भविष्य उज्यालो बनाउने अवसरका रूपमा रूपान्तरण गरे ।

 

त्यसैले यस वर्षको वार्षिकोत्सवमा केक काटिएन, भव्य भोज भएन। बरु इलामको दुर्गम माङसेवुङ गाउँपालिका–४ स्थित सरस्वती आधारभूत विद्यालयका १२३ जना विद्यार्थीको अनुहारमा मुस्कान फुलाउने काम गरियो।

 

यी विद्यार्थी विद्यालयको पोसाक त लगाउँछन्, तर कतै टालिएको, कतै च्यातिएको। कतिपयको खुट्टामा जुत्ता छैन, चप्पल पनि जीर्ण छ। दैनिक घण्टौँ पैदल हिँडेर विद्यालय पुग्नु उनीहरूको नियमित जीवन हो। तर विद्यालय पुगिसकेपछि पनि अभाव सकिँदैन। कापी, कलम, झोला र आधारभूत शैक्षिक सामग्रीको अभावले उनीहरूको सिकाइ यात्रालाई निरन्तर चुनौती दिइरहेको हुन्छ।

 

यही यथार्थको जानकारी पाएपछि होलसेल व्यवसायी संघ, दमकले आफ्नो वार्षिकोत्सवको बजेट सामाजिक उत्तरदायित्वतर्फ मोड्यो।

 

सोमबार माङसेवुङ गाउँपालिका–४ को वडा कार्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा १२३ जना विद्यार्थीलाई एक वर्षसम्म पुग्ने गरी कापी, कलम, विद्यालय झोला तथा विद्यार्थीको नापअनुसारका विद्यालय जुत्ता वितरण गरियो।

 

सहयोगका सामग्री हातमा पर्दा विद्यार्थीहरूको अनुहारमा देखिएको खुसी शब्दमा वर्णन गर्न कठिन थियो। उनीहरूको हातमा केवल झोला र कापी थिएनन्, भविष्यप्रतिको विश्वास पनि थपिएको थियो।

 

विद्यार्थी चाँदनी लिम्बुले सबै सहयोगदाताप्रति आभार व्यक्त गर्दै यो सहयोगले आफूहरूको पढाइमा ठूलो ऊर्जा थप्ने बताउनुभयो। उहाँको भावुक अभिव्यक्तिले कार्यक्रमस्थल नै केहीबेर मौन बनेको थियो।

 

कार्यक्रममा सरस्वती आधारभूत विद्यालयका मात्र होइन, आसपासका विद्यालयका प्रधानाध्यापकहरू पनि सहभागी थिए। दुर्गम आधारभूत विद्यालयका प्रधानाध्यापक नानीकाजी राईले ग्रामीण क्षेत्रका विद्यार्थीहरूले अझै न्यूनतम शैक्षिक पूर्वाधारको अभावमा अध्ययन गरिरहेको यथार्थ प्रस्तुत गर्नुभयो।

 

यस्तै, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक दाताराम खनालले ग्रामीण विद्यालयहरू राज्यको प्राथमिकतामा पर्न नसकेको गुनासो गर्दै, यस्ता सामाजिक सहयोगले विद्यार्थीमा नयाँ उत्साह थप्ने बताउनुभयो।

 

कार्यक्रममा जीवन चक्र समाज, दमकका अध्यक्ष गणेश गौतमले विद्यार्थीलाई पढाइसँगै अनुशासन, सकारात्मक सोच र असल बानीको विकास गर्न आग्रह गर्नुभयो। उहाँले ज्ञानसँगै चरित्र निर्माण पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

 

होलसेल व्यवसायी संघका संस्थापक अध्यक्ष रिङकुमार आचार्यका अनुसार संघले विगत केही वर्षदेखि वार्षिकोत्सवमा हुने अनावश्यक खर्च कटाएर सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।

 

उहाँले समाजले व्यवसायीबाट केवल व्यापार होइन, सामाजिक जिम्मेवारी पनि अपेक्षा गर्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

कार्यक्रमका विशेष अतिथि तथा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भगवान बस्नेतले दमकमा रहेका २४ वटा वस्तुगत संघमध्ये सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्ने संस्थाका रूपमा होलसेल व्यवसायी संघ उदाहरणीय बनेको बताउनुभयो।

 

उहाँले सबै व्यवसायिक तथा सामाजिक संस्थाले यस्तै अभियान सञ्चालन गर्ने हो भने ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

 

कार्यक्रमका प्रमुख अतिथि तथा माङसेवुङ गाउँपालिका–४ का वडाध्यक्ष नवीन लिम्बुले एकपटक सहयोग गरेर मात्र नरोकिन आग्रह गर्नुभयो। उहाँले सहयोगपछि विद्यार्थीमा आएको परिवर्तन, अन्य विद्यालयको अवस्था र आवश्यकताको नियमित अनुगमन गर्न व्यवसायीहरूलाई अनुरोध गर्नुभयो।

 

होलसेल व्यवसायी संघ दमकका अध्यक्ष राम रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सल्लाहकार काशीनाथ थपलियाबाट सामाजिक सेवाको प्रेरणा प्राप्त भएको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरियो।

समाज परिवर्तन केवल सरकारको दायित्वले मात्र सम्भव हुँदैन। जब निजी क्षेत्रले आफ्नो उत्सवलाई सामाजिक सेवासँग जोड्छ, त्यसले केवल केही विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दैन, समाजलाई नयाँ सोच पनि दिन्छ।

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

काठमाडौं,६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी।पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ । बी।पी कोइराला

त्रिपुरेश्वर आगजनी , कीर्तिपुर अस्पतालमा मृत्युका आफन्त र प्रहरीको भीड

काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा आज कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ। मृतकका आफन्तहरू अहिले कीर्तिपुर

नेपाल र भुटानले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्ने

काठमाडौं,६ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा नेपाल

प्रधानमन्त्रीको न्युयोर्क यात्रामा कुनै किसिमको ‘तामझाम’ नगरिने

काठमाडौँ,६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लाग्नु भएका प्रधानमन्त्री बालेन्द्र शाहले विदाइको परम्परागत शैली तोड्ने हुनुभएको छ। उच्चस्तरीय

जलवायु न्यायका लागि ‘ग्लोबल डे अफ एक्सन’

काठमाडौं,६ असोज । जलवायु न्याय, जलवायुजन्य हानि–नोक्सानीको क्षतिपूर्ति तथा जीवाश्म इन्धनमुक्त भविष्यको माग गर्दै गत शुक्रबार काठमाडौंको बसन्तपुरसहित नेपालका विभिन्न स्थानमा ‘ग्लोबल डे अफ एक्सन’

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका