नेटफ्लिक्सको प्रसिद्ध सिरिज ब्ल्याक मिरर को ‘नोजडाइभ’ (Nosedive) एपिसोड तपाईंलाई यादै होला। मुख्य पात्र लेसी आफ्नो सामाजिक रेटिङ बढाउन हाँसो, आँसु र अन्ततः आत्मसम्मानसमेतको सौदा गरिरहेकी हुन्छिन्। त्यो यस्तो संसार हो, जहाँ मानिसको मूल्य उसको मानवीय संवेदनाले होइन, स्क्रिनमा देखिने रेटिङले तय गर्छ।
आजको डिजिटल संसार हेर्दा ब्ल्याक मिरर को त्यो काल्पनिक संसार धेरै टाढाको कुरा लाग्दैन। बरु कतिपय अवस्थामा हाम्रो यथार्थले त्यसलाई पछाडि पार्न थालेको देखिन्छ।
यसको एउटा गम्भीर उदाहरण मुम्बईमा चर्चामा आएको डा. सेजल पवार र स्ट्यान्डअप कमेडियन प्रणीत मोरेसँग जोडिएको भिडियो हो। शरीर रचना विज्ञान (Anatomy) को प्रयोगशालामा अध्ययनका लागि दान गरिएका मानव शवका संवेदनशील अङ्गमाथि उपहास गर्दै त्यसलाई मनोरञ्जनका रूपमा प्रस्तुत गर्नु केवल एउटा असंवेदनशील मजाक होइन। यो आजको ‘अटेन्सन इकोनोमी’ अर्थात् ध्यानलाई नै आर्थिक र सामाजिक मूल्यमा बदल्ने डिजिटल संस्कृतिको गम्भीर समस्या हो।
यहाँ एउटा प्रश्न उठ्छ—मानिसले यस्तो सामग्री किन बनाउँछ?
उत्तर केवल व्यक्तिगत असंवेदनशीलतामा खोजेर पुग्दैन। सामाजिक सञ्जालमा भ्युज, लाइक, सेयर र कमेन्ट नै सफलता मापनको आधार बन्दै गएपछि ‘ध्यान खिच्ने’ दबाब बढ्छ। सामान्य कुरा पर्याप्त हुँदैन। अझ चर्को, अझ विवादास्पद र अझ उत्तेजक सामग्रीले बढी ध्यान पाउने सम्भावना हुन्छ। त्यसपछि मानिस आफैँलाई पनि सामग्रीमा बदल्न थाल्छ।
तर यहाँ लोकप्रियताको कुरा मात्र छैन; पैसाको कुरा पनि छ।डिजिटल प्लेटफर्ममा भ्युज र एङ्गेजमेन्ट अन्ततः विज्ञापन र अन्य माध्यमबाट आम्दानीमा रूपान्तरण हुन सक्छन्। YouTube को Partner Program ले योग्य सिर्जनाकर्तालाई उनीहरूको सामग्रीमा देखाइने विज्ञापनबाट हुने आम्दानीमा हिस्सा दिन्छ। अर्थात् भ्युज केवल ‘लोकप्रियता’ होइन; निश्चित अवस्थामा त्यो प्रत्यक्ष आर्थिक मूल्य पनि हो।
यहीँबाट समस्या अझ गम्भीर हुन्छ। जब ध्यान पैसामा बदलिन्छ, तब उत्तेजना पनि व्यापार बन्न सक्छ। एउटा सनसनीपूर्ण शीर्षकले थप क्लिक ल्याउन सक्छ, एउटा विवादास्पद भिडियोले थप भ्युज ल्याउन सक्छ र एउटा असंवेदनशील दृश्यले च्यानलको एङ्गेजमेन्ट बढाउन सक्छ। त्यसपछि केही मानिस कानुनी र नैतिक जोखिमसमेत मोलेर ‘भाइरल’ हुने दौडमा लाग्न सक्छन्। यही दौड ‘अटेन्सन इकोनोमी’को सबैभन्दा अँध्यारो पक्ष हो।
डिजिटल सर्वहारा कसरी बन्छ?
परम्परागत मजदुरले आफ्नो श्रम बेच्थ्यो। आजको डिजिटल मजदुरले आफ्नो समय, ध्यान, सिर्जनशीलता र निजी जीवनका अंशहरू डिजिटल प्लेटफर्ममा खर्च गर्छ। ऊ सामग्री बनाउँछ, तर त्यो सामग्री कति मानिससम्म पुग्ने भन्ने निर्णय धेरै हदसम्म एल्गोरिदमले गर्छ।ऊ स्वतन्त्र देखिन्छ, तर भ्युजको दबाबमा काम गर्छ।ऊ आफ्नै विचार व्यक्त गर्छ, तर ट्रेन्डको दबाबमा विचार प्रस्तुत गर्छ।ऊ आफूलाई प्रचार गर्छ, तर अन्ततः प्लेटफर्मले बनाएको नियमअनुसार आफूलाई प्रस्तुत गर्न बाध्य हुन्छ।
कार्ल मार्क्सले श्रम र मानिसबीचको सम्बन्धमा हुने अलगावबारे चर्चा गरेका थिए। डिजिटल युगमा त्यसलाई नयाँ ढङ्गले बुझ्न सकिन्छ। मानिस आफ्नो वास्तविक जीवनभन्दा आफ्नो डिजिटल छविसँग बढी चिन्तित हुन थाल्छ। उसले ‘म को हुँ?’ भन्दा ‘मानिसहरूले मलाई कसरी हेर्छन्?’ भन्ने प्रश्नलाई महत्त्व दिन थाल्छ।यही अर्थमा आजको डिजिटल श्रमिक एल्गोरिदमको ‘बन्धक मजदुर’ बन्न सक्छ।नेपालमा पनि यही प्रवृत्ति देखिँदैछ
।
यो समस्या नेपालका लागि पनि पराई होइन। पछिल्ला वर्षमा सामाजिक सञ्जालमा भाइरल हुने सामग्रीको प्रकृति हेर्दा ‘पहिले भाइरल, पछि सत्य’ भन्ने प्रवृत्ति बढिरहेको देखिन्छ।उदाहरणका लागि, २०८३ असारमा पोखरा–मुग्लिन सडकमा पहिरोले बस र अन्य सवारीसाधन पुरेको भन्दै एउटा भिडियो टिकटकमा भाइरल भयो। पछि तथ्यजाँच गर्दा त्यो नयाँ घटना नभई २०८१ असोज १२ गते झ्याप्ले खोलामा गएको पहिरोको पुरानो भिडियो भएको पाइयो। पुरानो दुःखद घटनालाई नयाँ घटनाका रूपमा प्रस्तुत गर्दा त्यसबाट त्रास र भ्रम दुवै फैलियो।
तीनकुने घटनाका क्रममा पनि यस्तै भयो। मृत्यु भएका व्यक्तिको अन्त्येष्टि हुँदै गरेको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। तर तथ्यजाँच गर्दा त्यसमा प्रयोग गरिएको भिडियो र अडियो फरक–फरक घटनाका रहेछन्।यस्ता घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्—हामी सूचना खोजिरहेका छौँ कि केवल उत्तेजना?सामाजिक सञ्जालको समस्या यहीँ छ। सत्य ढिलो आउन सक्छ, तर उत्तेजक सामग्री केही सेकेन्डमै फैलिन सक्छ। एउटा पुरानो भिडियो, गलत क्याप्सन वा काटछाँट गरिएको क्लिपले लाखौँ मानिसलाई प्रभावित गर्न सक्छ।
भ्युजको अर्थतन्त्र र मानवीय संवेदना
डिजिटल प्लेटफर्ममा हाम्रो ध्यान नै मूल्यवान् वस्तु बनेको छ। हामी जति धेरै समय स्क्रिनमा बिताउँछौँ, त्यति धेरै विज्ञापन, डेटा र एङ्गेजमेन्टको आर्थिक मूल्य सिर्जना हुन्छ।त्यसैले प्लेटफर्मको मूल प्रश्न धेरैपटक यस्तो हुन्छ—‘यो सामग्री सही छ कि छैन?’ भन्दा ‘यसले मानिसलाई कति समय रोक्छ?’यही कारणले दुःख, दुर्घटना, झगडा, मृत्यु, अश्लीलता र विवादसमेत ‘कन्टेन्ट’ बन्न सक्छन्।अर्थात् डिजिटल बजारमा अब केवल उत्पादन र सेवा मात्र बेचिँदैन। मानिसको ध्यान नै उत्पादन बन्छ। र त्यस ध्यानलाई तान्न सक्ने सामग्री नै सबैभन्दा बढी मूल्यवान् बन्न थाल्छ।यही हो ‘अटेन्सन इकोनोमी’को अँध्यारो पक्ष।
एल्गोरिदम दोषी कि हामी?
यहाँ एउटा कुरा स्पष्ट गर्न आवश्यक छ—एल्गोरिदम आफैँ न राम्रो हुन्छ, न नराम्रो। समस्या त्यसलाई कसरी डिजाइन गरिएको छ र त्यसले कस्तो व्यवहारलाई बढी प्रोत्साहन गर्छ भन्ने हो।यदि बढी उत्तेजक सामग्रीले बढी भ्युज पाउँछ भने सिर्जनाकर्ताले त्यस्तै सामग्री बनाउन प्रेरणा पाउँछ। यदि विवादले बढी कमेन्ट ल्याउँछ भने विवाद सिर्जना गर्ने प्रोत्साहन बढ्छ। यदि झुटो वा भ्रामक शीर्षकले मानिसलाई क्लिक गराउँछ भने ‘क्लिकबेट’ सामान्य रणनीति बन्छ।त्यसपछि मानिस एल्गोरिदम चलाउने होइन, एल्गोरिदमले मानिसको व्यवहार चलाउन थाल्छ।









