सुर्खेत,१५ भदौ । रसुवाको बाढी प्रभावित क्षेत्रका लागि कर्णाली प्रदेश सभाका नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले आर्थिक सहयोग गर्ने भएका छन्।
दुवै दलको संसदीय दलको बैठकले आफ्ना सांसदबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
कांग्रेस संसदीय दलले यसअघि नै प्रति सांसद १५ हजार रुपैयाँका दरले रकम संकलन गरी कोषमा जम्मा गरिसकेको जनाएको छ। कर्णाली प्रदेश सभामा कांग्रेसका १५ सांसद रहेकाले २ लाख २५ हजार रुपैयाँ संकलन भएको छ।
यस्तै, एमाले संसदीय दलले पनि प्रति सांसद १५ हजार रुपैयाँका दरले रकम संकलन गर्ने निर्णय गरेको प्रमुख सचेतक टेकराज पछाईले बताए। एमालेका १० सांसदबाट १ लाख ५० हजार रुपैयाँ संकलन हुनेछ।
यसरी कांग्रेस र एमालेका सांसदबाट रसुवा बाढी प्रभावितका लागि कुल ३ लाख ७५ हजार रुपैयाँ सहयोग हुने भएको छ।









