काठमाडौं,२ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानवीय तथा भौतिक क्षतिको विषय संयुक्त राष्ट्र संघ (यूएन) को मञ्चमा तथ्यसहित उठाउनुपर्ने बताउनु भएके छ ।
शुक्रबार कांग्रेसको ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै शर्माले प्रधानमन्त्रीले यूएनमा नेपालको विपद्, जलवायु परिवर्तनका कारण भएको क्षति, कार्बन उत्सर्जनमा नेपालको न्यून योगदान तथा हिमताल विस्फोटको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताएउनु भयो ।
उहाँले भन्नु भयो, ‘प्रधानमन्त्रीजीले जलवायु परिवर्तनको कारण हामीले भोग्नुपरेको मानवीय र भौतिक क्षतिको तथ्यपूर्ण विवरण राख्नुपर्छ ।’
शर्माले मृत्यु र बेपत्ताको तथ्यांकसँगै प्रभावित परिवार तथा बालबालिकाले भोगिरहेको पीडालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने बताउनु भयो ।
उहाँले राष्ट्रिय बाल अधिकार परिषद्को प्रतिवेदनमा ४९ जना बालिका र ५३ जना बालकले दुवै अभिभावक गुमाएको उल्लेख रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘क्षति भनेको देखिएको भौतिक क्षति मात्रै होइन, हाम्रो सम्भावनाको क्षति पनि यसलाई जोड्नुपर्छ।’
शर्माले विपद्बाट घर, सडक, विद्यालय, अस्पताल तथा विद्युत् आयोजनामा भएको क्षतिको विवरण तयार गरी यूएनमा प्रस्तुत गर्नुपर्ने बताउनु भयो ।
त्यसका लागि नीति प्रतिष्ठानले डा. गोविन्द पोखरेलको नेतृत्वमा ‘पोस्ट डिजास्टर निड एसेसमेन्ट’ (पीडीएनए) सम्बन्धी तयारी गरिरहेको जानकारी दिनु भयो ।
त्यस्तै, नेपालले कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको विषय उठाउनुपर्ने उहाँको भनाइ छ ।
पेरिस सम्झौताको ‘लस एन्ड ड्यामेज’ सम्बन्धी व्यवस्थालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा स्मरण गराउनुपर्ने उहाँले बताउनु भयो।
शर्माले इसिमोडको रिपोर्टअनुसार हिमालय क्षेत्रमा जोखिममा रहेका हिमतालको विषयलाई समेत यूएनमा उठाउनुपर्ने बताउनु भयो ।
उहाँले विपद्का बेला राजनीतिक आग्रहभन्दा माथि उठेर सरकारलाई सहयोग गर्नु जिम्मेवार प्रतिपक्षको कर्तव्य भएको बताउनु भयो।









