अमेरिका , ४ असोज । ज्येष्ठ नागरिकको स्वास्थ्य, पारिवारिक हेरचाह र स्वास्थ्य सेवामा पहुँचका विषयमा काम गर्दै आएको प्रोजेक्ट भालाकुशारीको विशेष बैठक अमेरिकाको ह्यारिस्बर्गमा सम्पन्न भएको छ।सेप्टेम्बर १७ मा भएको बैठकमा परियोजनाले हालसम्म गरेका गतिविधि, समुदायसँगको सहकार्य, अनुसन्धानबाट प्राप्त अनुभव र आगामी कार्यक्रमबारे छलफल गरिएको थियो।बैठकमा अनुसन्धानको तेस्रो चरणलाई समुदायको वास्तविक आवश्यकता र अनुभवसँग जोडेर थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ।परियोजनाअन्तर्गत नेपाली तथा भुटानी मूलका ज्येष्ठ नागरिक, उनीहरूका परिवार र स्वास्थ्य सेवा प्रदायक गरी ५० जनासँग गुणात्मक अन्तर्वार्ता गरिएको छ। जसमा २० जना ज्येष्ठ नागरिक, २० जना परिवारका हेरचाहकर्ता र १० जना स्वास्थ्य सेवा प्रदायक छन्।
अन्तर्वार्ताबाट ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा लिँदा भोग्ने कठिनाइ, भाषिक तथा सांस्कृतिक चुनौती, पारिवारिक हेरचाह, सामाजिक एक्लोपन र स्वास्थ्य सेवामा पहुँचलगायतका विषय पहिचान गरिएको परियोजनाले जनाएको छ।लेहाई विश्वविद्यालयकी सहप्राध्यापक तथा अनुसन्धानकर्ता डा. रोशेल एल. फ्रौनफेल्करले आगामी अनुसन्धानमा समुदायको आवाज, अनुभव र सुझावलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो। बैठकमा परियोजनाका गतिविधि र उपलब्धिबारे सञ्चारमाध्यममार्फत नियमित जानकारी गराउनुपर्नेमा पनि जोड दिइएको थियो। सन् २०२४ को अन्त्यतिर ह्यारिस्बर्गमा सुरु भएको भालाकुशारी परियोजना अमेरिकाको नेशनल इन्स्टिच्युट्स अफ हेल्थको आर्थिक सहयोगमा, लेहाई विश्वविद्यालय र बीसीसीपिएबीचको सहकार्यमा सञ्चालन भइरहेको छ।









