काठमाडौं,१३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेका विभिन्न तहका अधिवेशनबाट झन्डै ४४ हजार युवा पार्टीको पदीय जिम्मेवारीमा पुगेका छन्। करिब एक लाख युवाले विभिन्न पदमा उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेको कांग्रेसले जनाएको छ।
गोरखा–२ को क्षेत्रीय सभापतिमा निर्वाचित सुवास अधिकारी यसको पछिल्लो उदाहरण हुन्। नेविसंघबाट पार्टी राजनीतिमा आएका अधिकारी यसअघि महाधिवेशन प्रतिनिधिसमेत थिए।
कांग्रेसको नयाँ विधानअनुसार ३५ वर्षमुनिका युवालाई विभिन्न तहका कार्यसमितिमा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको छ। विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलका अनुसार यही व्यवस्थाका कारण देशभरबाट ठूलो संख्यामा युवा नेतृत्वमा आएका हुन्।
३५ वर्षमुनिका ४३ हजार ९८६ युवा पदमा
नयाँ व्यवस्थाअनुसार देशभरका ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जना ३५ वर्षमुनिका युवा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। यस आधारमा कम्तीमा २० हजार २२९ युवा निर्वाचित हुन्छन्। क्रियाशील सदस्यताको आधारमा कतिपय वडाबाट बढी प्रतिनिधि निर्वाचित हुने भएकाले औसत पाँच जनाका दरले ३३ हजार ७१५ युवा क्षेत्रीय प्रतिनिधि हुने अनुमान गरिएको छ।
त्यस्तै, गाउँपालिकाका प्रत्येक वडाबाट एक जना र नगरपालिकाका प्रत्येक वडाबाट दुई जना युवा कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था छ।
देशभरका गाउँपालिकाका ३ हजार २१५ वडाबाट ३ हजार २१५ जना र नगरपालिकाका ३ हजार ५२८ वडाबाट ७ हजार ५६ जना गरी १० हजार २७१ युवा वडा कार्यसमिति सदस्य बन्नेछन्।
यसरी क्षेत्रीय प्रतिनिधि ३३ हजार ७१५ र वडा कार्यसमिति सदस्य १० हजार २७१ गरी कुल ४३ हजार ९८६ जना ३५ वर्षमुनिका युवा पदीय जिम्मेवारीमा पुग्ने कांग्रेसको तथ्यांक छ।
करिब एक लाख युवाको प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार निर्वाचित हुनेभन्दा कम्तीमा दोब्बर संख्यामा युवाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए। त्यस आधारमा महाधिवेशनअन्तर्गतको निर्वाचनमा झन्डै एक लाख युवाले प्रतिस्पर्धा गरेको उनको भनाइ छ।
क्षेत्रीय प्रतिनिधिमध्येबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा कम्तीमा तीन जना, प्रदेश निर्वाचन क्षेत्रको कार्यसमितिमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा दुई जना र जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना युवा निर्वाचित हुने व्यवस्था छ।
यस्तै, प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले देशभरबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रत्येक निर्वाचन क्षेत्रबाट एक–एक जनाका दरले १६५ जना महासमिति सदस्य चयन हुनेछन्।
नयाँ विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि रहने व्यवस्था छ। सातै प्रदेशमा दुई महिलासहित कम्तीमा पाँच जना प्रदेश कार्यसमिति सदस्य पनि युवा समूहबाट आउनेछन्।
केन्द्रीय कार्यसमितिमा समेत पहिलोपटक प्रत्येक प्रदेशबाट एक युवा र एक युवती गरी १४ जना युवा प्रवेश गर्ने व्यवस्था गरिएको छ।
विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले कांग्रेसको अधिवेशनमा ठूलो संख्यामा युवाको सहभागिता र उम्मेदवारी देखिएको बताएका छन्। उनका अनुसार नयाँ व्यवस्थाले पार्टीका विभिन्न तहमा युवाको प्रतिनिधित्व उल्लेख्य रूपमा बढाएको छ।





