दमक । १३ असोज | दमक नगरपालिकामा कार्यालयसँग सम्बन्धित फारम भर्ने र निवेदन लेख्न अब सेवाग्राहीले शुल्क तिर्नु नपर्ने भएको छ।
नगरपालिकाले सेवाग्राहीलाई आवश्यक सहयोग उपलब्ध गराउन आजदेखि दर्ता चलानी उपशाखासँगै रहने गरी नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको हो।
नगरपालिकाका अनुसार कार्यालयसँग सम्बन्धित फारम भर्ने, निवेदन लेख्ने लगायतका काम नागरिक सहायता कक्षबाट निःशुल्क रूपमा गरिनेछ।
सेवाग्राहीलाई आवश्यक सहयोग गर्ने तथा सुशासनको प्रत्याभूति दिलाउने उद्देश्यले सहायता कक्षमा कर्मचारीको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले निःशुल्क रूपमा हुने कामका लागि बाहिरका अनधिकृत व्यक्तिलाई कुनै पनि शुल्क नदिन सेवाग्राही तथा सरोकारवालालाई आग्रहसमेत गरेको छ





